“यहूदाको पाप फलामको औजारले कुँदिएको छ। त्यो तिनीहरूका हृदयको पाटीमा र तिनीहरूका वेदीका सीङहरूमा चकमक पत्थरको टुप्पाले खोपिएको छ। झ्याम्म परेका रूखहरूनेर र अल्गा डाँड़ाहरूमा भएका आफ्ना वेदीहरू र अशेराका खम्बाहरू तिनीहरूका छोराछोरीहरूले पनि स्मरण गर्छन्। देशमा भएको मेरो पर्वत र तिमीहरूका सबै धन-सम्पत्ति तिमीहरूका अल्गा-अल्गा ठाउँहरूसहित तिमीहरूको देशभरिका पापको कारण ती लुटिनलाई म दिनेछु। मैले तिमीहरूलाई दिएको उत्तराधिकार तिमीहरूले आफ्नै दोषले गर्दा तिमीहरूले गुमाउनेछौ, र तिमीहरूले नचिनेको देशमा म तिमीहरूलाई आफ्ना शत्रुहरूको सेवा गर्न लाउनेछु, किनकि तिमीहरूले मेरो रीसको आगो सल्काएका छौ, र त्यो सधैँ जलिरहनेछ।”
परमप्रभु यसो भन्नुहुन्छ: “श्रापित होस् त्यो मानिस, जसले मानिसमाथि भरोसा राख्तछ, र शारीरिक शक्तिमाथि भर पर्दछ, जसको हृदय परमप्रभुदेखि तर्किगएको छ। त्यो उजाड़-भूमिको पोथ्रोझैँ हुनेछ। उन्नति आउँदा त्यसले देख्नेछैन। त्यो मरुभूमिका सुक्खा ठाउँहरूमा बस्नेछ, अर्थात् नूनको जमिन जहाँ कोही पनि बस्दैन।
“तर त्यो मानिस धन्यको हो, जसले परमप्रभुमा भरोसा राख्तछ, जसको आशा परमप्रभु हुनुहुन्छ। त्यो पानीको किनारमा रोपेको रूखजस्तो हुनेछ, जसले आफ्ना जराहरू खोलाका किनारसम्म फिँजाएको हुन्छ। गर्मी हुँदा त्यो डराउँदैन, त्यसका पातहरू सधैँ हरियै हुन्छन्। खड़ेरीको समयमा त्यसलाई केही चिन्ता हुँदैन, र त्यसले फल फलाउन कहिल्यै चुक्दैन।”
मानिसको हृदय सबै कुराभन्दा छली हुन्छ, र त्यसलाई निको पार्न सकिँदैन। त्यसलाई कसले जान्न सक्छ र?
“हरेक मानिसलाई त्यसको चालअनुसार र त्यसका कर्मको फलअनुसार इनाम दिनलाई म परमप्रभु मानिसको हृदय तलाश गर्छु, त्यसका मनको म जाँच गर्छु।”
आफूले नपारेका अण्डा ओथ्रने तित्रोजस्तै त्यो मानिस हो, जसले अन्यायसित धन कमाउँछ। त्यसको जीवनकालको आधा समयमा नै त्यस धनले त्यसलाई छोड्नेछ, र जीवनको शेषकालमा त्यो मूर्ख ठहर्नेछ।
सुरुदेखि नै गौरवमा स्थापित भएको महिमित सिंहासन हाम्रो शरणस्थान हो। हे परमप्रभु, इस्राएलको आशा, तपाईंलाई त्याग्नेहरू सबै लाजमा पारिनेछन्। तपाईंदेखि तर्किजानेहरू सबै धूलोमा लेखिएका नाउँहरूजस्ता मात्रै हुनेछन्, किनभने तिनीहरूले परमप्रभु, जीवित पानीको मूललाई त्यागेका छन्।
हे परमप्रभु, मलाई निको पार्नुहोस्, र म निको हुनेछु, मलाई बचाउनुहोस् र म बाँच्नेछु, किनकि मेरो प्रशंसाको पात्र तपाईं नै हुनुहुन्छ। तिनीहरू मलाई भनिरहन्छन्, “परमप्रभुको वचन कहाँ छ? त्यो अब पूरा गरिओस्!” तपाईंको गोठालो हुनदेखि म भागेको छैनँ। तपाईं जान्नुहुन्छ कि निराशाको दिनको इच्छा मैले गरेको छैनँ। मेरो मुखबाट जे निस्कन्छ, त्यो तपाईंको सामुन्ने खुला छ। तपाईं मेरो त्रासको कारण नबन्नुहोस्, मेरा विपत्तिको दिनमा तपाईं नै मेरो शरणस्थान हुनुहुन्छ। मलाई सताउनेहरू नै लाजमा परून्, तर मलाई चाहिँ लाजमा पर्नदेखि जोगाउनुहोस्। तिनीहरू नै त्रासमा परून्, तर मलाई चाहिँ त्रासमा पर्नदेखि जोगाउनुहोस्। तिनीहरूमाथि सर्वनाशको दिन ल्याउनुहोस्, दोबर विनाशले तिनीहरूलाई सर्वनाश गर्नुहोस्।