यर्मिया 15:10-21

यर्मिया 15:10-21 NNRV

हाय, मेरी आमा, किनकि तपाईंले मलाई जन्‍म दिनुभयो, मजस्‍तोलाई, जोसँग सारा देश झगड़ा र विवाद गर्छ। मैले न त ऋण दिएको छु, न ऋण लिएको छु, तापनि सबै जना मलाई सराप्‍छन्‌। परमप्रभुले भन्‍नुभयो, “निश्‍चय नै म तँलाई एउटा राम्रो अभिप्रायले छुटाउनेछु। निश्‍चय नै म दु:ख र सङ्कष्‍टको समयमा तेरा शत्रुहरूलाई तँसँग बिन्‍ती गर्न लाउनेछु। “के एक जना मानिसले फलाम भाँच्‍न सक्‍छ र— उत्तरको फलाम वा काँसालाई? तिमीहरूको देशभरि आफ्‍ना सबै पापहरूले गर्दा तिमीहरूका धन-सम्‍पत्ति र तिमीहरूका भण्‍डारका माल सित्तैँमा म लूटको मालझैँ बाँड़िदिनेछु। म तिमीहरूलाई आफैले नचिनेको देशमा आफ्‍ना शत्रुहरूका कमारा तुल्‍याउनेछु। किनभने मेरो रीसले एउटा आगो सल्‍काउनेछ, जो तिमीहरूका विरुद्धमा निरन्‍तर जलिरहनेछ।” हे परमप्रभु, तपाईं बुझ्‍नुहुन्‍छ, मलाई सम्‍झनुहोस्, र मेरो वास्‍ता गर्नुहोस्‌। मेरो निम्‍ति मलाई सताउनेहरूसित बदला लिनुहोस्‌। तपाईं धैर्यवान्‌ हुनुहुन्‍छ, मलाई नलैजानुहोस्‌। तपाईंको खातिर मैले कति गाली सहें, सो सम्‍झनुहोस्‌। जब तपाईंका वचनहरू आए ती मैले खाएँ, ती मलाई रमाहट, र मेरो हृदयलाई आनन्‍द दिने कुरा भए, किनकि तपाईंको नाउँले म कहलाइन्‍छु, हे सर्वशक्तिमान्‌ परमप्रभु परमेश्‍वर। मोजमज्‍जा गर्नेहरूको झुण्‍डमा म कहिल्‍यै बसिनँ, न त तिनीहरूसँग मैले हर्ष मनाएँ। म त एकलै बसें, किनभने तपाईंको हात ममाथि थियो र तपाईंले मलाई क्रोधले भरिदिनुभएको थियो। मेरो दु:ख किन थामिँदैन? र मेरो चोट किन कष्‍टकर र निको नहुने भएको छ? के तपाईं मेरो लागि धोका दिने खोलाझैँ, पानी नआउने मुहानझैँ हुनुहुनेछ? यसैकारण परमप्रभु यसो भन्‍नुहुन्‍छ: “यदि तैंले पश्‍चात्ताप गरिस्‌ भने, म तँलाई फेरि स्‍थापित गर्नेछु, कि तैंले मेरो सेवा गर्न सकोस्‌। यदि तैंले चाहिँदो कुरा बोलिस्‌ र व्‍यर्थका कुरा गरिनस्‌ भने, तँ मेरो वक्ता हुनेछस्‌। यी मानिसहरू तँतिर फर्कून्, तर तँचाहिँ तिनीहरूतिर नजानू। म तँलाई यस प्रजाको निम्‍ति काँसाको बलियो किल्‍ला भएको पर्खाल बनाउनेछु। तिनीहरू तेरो विरुद्धमा लड़ाइँ गर्नेछन्, तर तँमाथि विजयी हुनेछैनन्, किनकि तँलाई बचाउन र उद्धार गर्नलाई म तँसित छु,” परमप्रभु भन्‍नुहुन्‍छ। “दुष्‍टहरूका हातदेखि म तँलाई बचाउनेछु, र निष्‍ठुरहरूका पन्‍जादेखि म तँलाई छुटाउनेछु।”