तिनले सबै गुप्त कुरा बताएका हुन् भनेर जब दलीलाले थाहा पाई, तब त्यसले पलिश्तीहरूका मुखियाहरूलाई डाकिपठाई, र भनी, “झट्टै आउनुहोस्, तिनले मलाई आफ्ना गुप्त कुरा बताएका छन्।” यसैले पलिश्तीहरूका मुखियाहरू आए, र आफ्ना साथमा चाँदी पनि ल्याए। त्यसले शिमशोनलाई आफ्नो काखमा सुताई, र एक जना मान्छेलाई बोलाएर सातै वटा लट्टा खौरिन लगाई। यसरी दलीलाले शिमशोनलाई काबूमा पार्न लागी अनि तिनको बल हट्यो।
तब त्यसले कराएर भनी, “शिमशोन, पलिश्तीहरू तपाईंमाथि आइलागे है।”
तिनी आफ्नो निद्राबाट जागे, र भने, “म सधैँझैँ आफैलाई मुक्त गर्नेछु।” तर परमेश्वरले तिनलाई छोड़िसक्नुभएको छ भनी तिनलाई थाहा थिएन।
तब पलिश्तीहरूले तिनलाई पक्रे, र तिनका आँखा निकालिदिए, र गाजामा ल्याए। त्यहाँ उनीहरूले तिनलाई काँसाका साङ्लाहरूले बाँधे, र झ्यालखानमा जाँतो पिँध्न लाए। तर तिनको कपाल खौरिएपछि फेरि बढ्न लाग्यो।
पलिश्तीहरूका मुखियाहरू आफ्नो देवता दागोनको निम्ति एउटा ठूलो बलिदान चढ़ाउनलाई र त्यसको अगि खुशी मनाउन भेला भए। उनीहरूले भने, “हाम्रा देवताले हाम्रो शत्रु शिमशोनलाई हाम्रा हातमा सुम्पिदिनुभयो।”
मानिसहरूले जब शिमशोनलाई देखे तब कराउँदै आफ्नो देवताको स्तुति यसरी गर्न लागे,
“हाम्रा देवताले हाम्रो शत्रु,
हाम्रो देशको अभिशाप,
लाशले हाम्रो देश भर्नेलाई
हाम्रा हातमा सुम्पिदिनुभएको छ।”
जब उनीहरू साह्रै आनन्दित भए तब उनीहरूले भने, “शिमशोनलाई झिकाओ, र त्यसले हामीलाई तमाशा देखाओस्।” तब उनीहरूले शिमशोनलाई झ्यालखानबाट झिकाए, र तिनले सबैका सामुन्ने तमाशा देखाए।
उनीहरूले तिनलाई मूल खम्बाहरूका बीचमा उभ्याए, र शिमशोनले तिनको हात समात्ने ठिटालाई भने, “मन्दिरलाई अड़ाउने मूल खम्बाहरू मलाई छाम्न दे, र म त्यहाँ अड़ेस लाग्नेछु।” अब मन्दिर पुरुष र स्त्रीहरूले खचाखच थियो, र पलिश्तीहरूका सबै मुखियाहरू पनि त्यहाँ थिए, र तीन हजार जति पुरुष र स्त्रीहरू छतमा बसेर शिमशोनको तमाशा हेरिरहेका थिए। तब शिमशोनले परमप्रभुलाई पुकारेर भने, “हे परमप्रभु परमेश्वर, मलाई याद गर्नुहोस्! हे परमेश्वर, मलाई अझै एक पल्ट मात्र शक्ति दिनुहोस्, र म मेरा दुई आँखाका निम्ति यी पलिश्तीहरूमाथि एकै चोटि बदला लिन सकूँ।” तिनले आफ्ना हात मन्दिरलाई थामेका ती दुई बीचका मूल खम्बामा लगाए, अनि दाहिने हात एउटामा र देब्रे हात अर्कोमा बलियो गरी राखेर, तिनले भने, “मलाई पलिश्तीहरूसँगै मर्न दिनुहोस्।” तब शिमशोनले आफ्नो सम्पूर्ण शक्ति लगाएर ठेले, र मुखियाहरू र त्यसमा भएका सबै मानिसहरूमाथि मन्दिर ढल्यो। यसरी तिनले आफू मर्दा बाँचेको समयको भन्दा धेरै मानिसहरूलाई मारे।
तिनका भाइहरू र तिनका बुबाका सबै परिवार तल गए, र तिनलाई लगेर तिनीहरूले तिनका बुबा मानोहको चिहानमा सोरा र एश्तोलको बीचमा तिनलाई गाड़े।
पलिश्तीहरूको समयमा शिमशोन बीस वर्षसम्म इस्राएलका अगुवा भए।