याकूब 3:3-11

याकूब 3:3-11 NNRV

यदि घोडाहरूलाई वशमा राख्‍नलाई तिनीहरूका मुखमा लगाम लगायौं भने तिनीहरूका सारा शरीरलाई जता मन पर्‍यो त्‍यतै लान सक्‍छौं। हेर त, जहाजहरू जो तेज हावाले चल्‍दछन्, ती ठूला-ठूला भए तापनि एउटा सानो पतवारद्वारा कर्णधारले आफ्‍नो इच्‍छाअनुसार जता मन पर्‍यो त्‍यतै लान्‍छ। त्‍यस्‍तै जिब्रो पनि एउटा सानो अङ्ग भएर ठूला-ठूला कुराको अभिमान गर्दछ। हेर, एउटा सानो आगोको झिल्‍काले ठूलो वन पनि स्‍वाहा पार्दछ। जिब्रो पनि एउटा आगो नै हो। यो शरीरका अङ्गहरूमध्‍ये अधर्मको एउटा दुनियाँ नै हो। यसले सारा शरीरलाई दूषित पार्दछ र जीवनको सारा क्रममा नै आगो सल्‍काइदिन्‍छ र नरकको आगोमा त्‍यो जल्‍छ! हरेक किसिमका पशुपक्षी, घस्रने जन्‍तु र समुद्रका जीवजन्‍तुलाई तह लगाउन सकिन्‍छ, र मानिस जातिबाट नै तह लगाइएको छ। तर जिब्रोलाई कुनै मानिसले तह लाउन सक्‍दैन। घातक विषले भरिएको यो चञ्‍चल दुष्‍ट हो। यसद्वारा हामी प्रभु र पिताको प्रशंसा गर्दछौं, र यसैद्वारा परमेश्‍वरको स्‍वरूपमा बनेका मानिसहरूलाई हामी सराप्‍तछौं। एउटै मुखबाट आशीर्वाद र सराप निस्‍कन्‍छन्‌। मेरा भाइ हो, यसो नहुनुपर्ने हो। के पानीको मूलको एउटै धाराबाट मीठो र तीतो पानी निस्‍कन्‍छ र?