याकूब 1:22-27

याकूब 1:22-27 NNRV

तर वचन पालन गर्ने होओ, र सुन्‍ने मात्र भएर आफैलाई धोका नदेओ। कुनै मानिसले वचन सुन्‍छ तर पालन गर्दैन भने, त्‍यो एउटा यस्‍तो मानिसजस्‍तो हुन्‍छ, जसले आफ्‍नो अनुहार ऐनामा हेर्छ, किनकि त्‍यसले आफैलाई हेर्छ र गइहाल्‍छ, र त्‍यो आफै कस्‍तो थियो, त्‍यो तुरुन्‍तै बिर्सिहाल्‍छ। तर त्‍यो मानिस जसले स्‍वतन्‍त्रता दिने शुद्ध व्‍यवस्‍थालाई हेर्दछ र त्‍यसैमा लागिरहन्‍छ, अनि सुनेर बिर्सिहाल्‍ने होइन तर काम गर्ने पनि हुन्‍छ, त्‍यसले चाहिँ आफूले गरेको काममा आशिष्‌ पाउनेछ। यदि कोही मानिसले आफूलाई धर्मी सम्‍झन्‍छ, र आफ्‍नो जिब्रोमा लगाम लाउँदैन, तर आफ्‍नो हृदयलाई धोका दिन्‍छ भनेता त्‍यस मानिसको धर्म व्‍यर्थ हुन्‍छ। परमेश्‍वर र पिताको अगाडि शुद्ध र पवित्र धर्म यही हो: अनाथ र विधवाहरूलाई तिनीहरूको कष्‍टमा हेरचाह गर्नु, र आफूलाई संसारबाट निष्‍कलङ्क राख्‍नु।