याकूब 1:13-18

याकूब 1:13-18 NNRV

परीक्षा हुँदा कसैले पनि यसो नभनोस्, “परमेश्‍वरद्वारा मेरो परीक्षा भएको हो।” किनकि कुनै खराब कुराबाट परमेश्‍वरको परीक्षा हुन सक्‍दैन, र उहाँ आफैले पनि कुनै मानिसको परीक्षा गर्नुहुन्‍न। तर हरेक मानिस आफ्‍नै खराब इच्‍छाद्वारा लोभिएर परीक्षामा पर्दछ। तब खराब इच्‍छाले गर्भधारण गरेपछि त्‍यसले पाप जन्‍माउँछ। अनि पाप पूरै बढ़ेपछि त्‍यसले मृत्‍यु ल्‍याउँछ। मेरा प्‍यारा भाइ हो, धोकामा नपर। हरेक असल दान र हरेक सिद्ध वरदान स्‍वर्गबाट हो, यो वरदान ज्‍योतिका पिताबाट आउँछ। बदली रहने छायाजस्‍तो उहाँमा कुनै हेरफेर हुँदैन। उहाँले आफ्‍नै इच्‍छाले सत्‍यको वचनद्वारा हामीलाई जन्‍म दिनुभयो, यस हेतुले कि हामी उहाँको सृष्‍टिको एक अगौटे फलजस्‍तो बन्‍न सकौं।