यशैया 60:1-10

यशैया 60:1-10 NNRV

“उठ्, प्रकाशमान्‌ हो, किनकि तेरो प्रकाश आएको छ, र परमप्रभुको महिमा तँमाथि उदाएको छ। हेर्, अँध्‍यारोले पृथ्‍वीलाई, र घोर अँध्‍यारोले मानिसहरूलाई ढाकेको छ, तर परमप्रभु तँमाथि चम्‍कनुहुन्‍छ, र उहाँको महिमा तँमाथि प्रकट हुन्‍छ। जाति-जाति तेरो प्रकाशमा र राजाहरू तेरो प्रभातको ज्‍योतिमा आउनेछन्‌। “तेरा आँखा उठाएर चारैतिर हेर्, तिनीहरू सबै जम्‍मा भएर तँकहाँ आउँछन्‌। तेरा छोराहरू टाढ़ाबाट आउँछन्, र तेरा छोरीहरू हात-हातमा बोकेर ल्‍याइन्‍छन्‌। तब यो देखेर तँ उज्‍ज्‍वल हुनेछस्, र तेरो हृदय आनन्‍दले गद्‌गद्‌ हुनेछ। समुद्रका धन तँतर्फ ल्‍याइनेछन्, जाति-जातिको सम्‍पत्ति तँकहाँ आउनेछ। ऊँटहरूका बथान, मिद्यान र एपाका सवारी ऊँटहरूले तेरो देश ढाकिनेछ। शेबाबाटका सबै जना परमप्रभुको प्रशंसा गर्दै सुन र धूप लिएर आउनेछन्‌। केदारका सबै भेड़ाबाख्राहरूका बगाल तँकहाँ जम्‍मा हुनेछन्‌। नबायोतका भेड़ाहरूले तेरो सेवा गर्नेछन्‌। तिनीहरू बलि स्‍वरूप मेरो वेदीमा ग्रहणयोग्‍य हुनेछन्, र मेरो महिमाको मन्‍दिरलाई म सिँगार्नेछु। “बादलझैँ उड्‌ने र ढुकुरझैँ तिनीहरूका गुँड़तिर उड्‌ने यी को हुन्‌? निश्‍चय नै टापूहरूले मलाई हेर्छन्‌। अगिअगिचाहिँ तर्शीशका व्‍यापारी जहाजहरू छन्‌। परमप्रभु तेरा परमेश्‍वरको निम्‍ति, अर्थात्‌ इस्राएलका परमपवित्रका सम्‍मानको निम्‍ति तिनीहरूले तेरा छोराहरूलाई तिनका सुन र चाँदीसित टाढ़ा-टाढ़ाबाट ल्‍याउँछन्‌। किनकि उहाँले तँलाई गौरवले युक्त पार्नुभएको छ। “विदेशीहरूले तेरा पर्खाल फेरि बनाउनेछन्, र तिनका राजाहरूले तेरो सेवा गर्नेछन्‌। मेरो क्रोधमा मैले तँलाई हिर्काएँ, तापनि मेरो निगाहमा म तँलाई टिठ्याउनेछु।