यशैया 51:1-6

यशैया 51:1-6 NNRV

“हे धार्मिकताको पछि लाग्‍ने र परमप्रभुलाई खोज्‍ने हो, मेरो कुरा सुन। जुन चट्टानबाट तिमीहरू कुँदियौ, र जुन खानीबाट तिमीहरू निकालियौ, त्‍यसलाई हेर। तिमीहरूका पुर्खा अब्राहाम र तिमीहरूलाई जन्‍माउने सारालाई हेर। मैले बोलाउँदा अब्राहाम एक मात्र थियो, र मैले त्‍यसलाई आशिष्‌ दिएँ र त्‍यसलाई धेरै बनाएँ। परमप्रभुले निश्‍चय नै सियोनलाई सान्‍त्‍वना दिनुहुनेछ, र उहाँले त्‍यसका सब भग्‍नावशेषहरूलाई दयाको दृष्‍टिले हेर्नुहुनेछ। अनि त्‍यसको मरुभूमिलाई अदनझैँ, र त्‍यसको रूखो जमिनलाई परमप्रभुको बगैँचाझैँ बनाउनुहुनेछ। हर्ष र आनन्‍द, धन्‍यवाद र गीतको सोर त्‍यसमा पाइनेछ। “हे मेरो प्रजा हो, मेरो कुरा सुन। हे मेरो जाति हो, मेरो कुरामा कान थाप। मबाट व्‍यवस्‍था निस्‍कनेछ, र मेरो न्‍याय जाति-जातिहरूका निम्‍ति ज्‍योति हुनेछ। मेरो धार्मिकता चाँड़ै नजिक आउँछ, मेरो उद्धार बाटैमा आउँदैछ, र मेरो बाहुबलले जातिहरूकहाँ न्‍याय ल्‍याउनेछु। टापूहरूले मलाई हेर्नेछन्, र मेरो बाहुबलमा तिनीहरूले आशा राख्‍नेछन्‌। तिमीहरू आफ्‍ना आँखा माथि आकाशतिर उठाओ, र तल पृथ्‍वीलाई हेर। आकाश धूवाँझैँ लोप हुनेछ, र पृथ्‍वी लुगाझैँ झुत्रो हुनेछ, र त्‍यसमा बस्‍नेहरू झीँगाजस्‍तै मर्नेछन्‌। तर मेरो उद्धार सदासर्वदै रहनेछ, र मेरो धार्मिकता कहिल्‍यै खतम हुनेछैन।