यशैया 42:1-13

यशैया 42:1-13 NNRV

“मेरा दास यहाँ छन्, जसलाई म समर्थन गर्दछु, मेरो चुनिएका जन, जसमा म प्रसन्‍न हुन्‍छु। तिनमा म मेरो आत्‍मा राखिदिनेछु। तिनले जाति-जातिहरूमा न्‍याय ल्‍याउनेछन्‌। तिनी चिच्‍च्‍याउनेछैनन्, वा कराउनेछैनन्‌ अथवा तिनले आफ्‍नो सोर सड़कमा सुनाउनेछैनन्‌। फुटेको निगालो तिनले भाँच्‍नेछैनन्, र धिपधिप भइरहेको सलेदो तिनले निभाउनेछैनन्‌। तिनले विश्‍वस्‍ततामा न्‍याय गर्नेछन्‌। जबसम्‍म तिनले पृथ्‍वीमा इन्‍साफ स्‍थापित गरिसक्‍दैनन्‌ तबसम्‍म न त तिनी दुर्बल हुनेछन्, न निरुत्‍साहित हुनेछन्‌। तिनको व्‍यवस्‍थामा टापूहरूले आफ्‍नो आशा राख्‍नेछन्‌।” परमेश्‍वर परमप्रभु यसो भन्‍नुहुन्‍छ— आकाश सृष्‍टि गरेर त्‍यो फैलाउनुहुने, अनि पृथ्‍वी र त्‍यसबाट उत्‍पन्‍न हुने सबैलाई फैलाउनुहुने, र त्‍यसमा भएका मानिसहरूलाई सास अनि त्‍यसमा हिँड्‌डुल गर्नेहरूलाई आत्‍मा दिनुहुने: “म, परमप्रभुले तिमीलाई मेरो धार्मिकताअनुसार बोलाएको छु। म तिम्रो हात समात्‍नेछु, र तिम्रो रक्षा गर्नेछु। तिमीलाई नै म जाति-जातिहरूका निम्‍ति करार र अन्‍यजातिहरूका निम्‍ति ज्‍योति बनाउनेछु, अन्‍धाहरूका आँखा खोल्‍नलाई, कैदीहरूलाई कारागारबाट र अन्‍धकारमा बस्‍नेहरूलाई कैदी राख्‍ने तहखानाबाट निकाल्‍नलाई। “म परमप्रभु हुँ, मेरो नाउँ त्‍यही हो! मेरो महिमा म अरूलाई दिनेछैनँ, अथवा मेरो प्रशंसा मूर्तिहरूलाई दिनेछैनँ। हेर, पहिलेका कुराहरू भइसके, र नयाँ कुराहरू म बताउँछु। ती हुनभन्‍दा अघि नै म तिनका विषयमा तिमीहरूलाई प्रकाशित गर्नेछु। परमप्रभुको निम्‍ति एउटा नयाँ भजन गाओ, उहाँको प्रशंसा पृथ्‍वीको पल्‍लो छेउदेखि गर, हे तिमी समुद्रमा यात्रा गर्ने र त्‍यसमा भएका सारा थोक हो, हे टापूहरू र तिनका सबै बासिन्‍दा हो! मरुभूमि र त्‍यसमा भएका नगरहरूले आ-आफ्‍ना सोर उचालून्‌। केदार बसेका बस्‍तीहरूसमेतले गाऊन्, सेलाका मानिसहरू आनन्‍दले गाऊन्‌। तिनीहरू पर्वतका टाकुराबाट कराऊन्‌। तिनीहरूले परमप्रभुलाई महिमा देऊन्, र टापूहरूमा उहाँका प्रशंसाको घोषणा गरून्‌। परमप्रभु शक्तिशाली पुरुषझैँ निस्‍कनुहुनेछ। एक जना योद्धालेझैँ उहाँले आफ्‍नो जोश देखाउनुहुनेछ। उहाँ कराउनुहुनेछ, र ठूलो सोरले युद्ध-ध्‍वनि उठाउनुहुनेछ। उहाँ आफ्‍ना शत्रुहरूमाथि विजयी हुनुहुनेछ।