यशैया 41:1-10

यशैया 41:1-10 NNRV

“हे टापू हो, मेरो सामुन्‍ने चूपचाप बस। जाति-जातिले नयाँ बल प्राप्‍त गरून्‌! तिनीहरू नजिक आऊन्‌ र बोलून्‌। हामी एकसाथ न्‍यायालयमा जम्‍मा होऔं। उहाँको सेवा गर्न धार्मिकतामा बोलाउँदै कसले पूर्व दिशाबाट एक जनालाई उत्तेजित गरेको छ? उहाँले जाति-जातिहरूलाई तिनको अधीनमा पारिदिनुहुन्‍छ, र राजाहरूलाई तिनको सामुन्‍ने आफ्‍नो अधिकारमा ल्‍याउनुहुन्‍छ। तिनले उनीहरूलाई आफ्‍नो तरवारले धूलोजस्‍तै र आफ्‍नो धनुले उड़ाएको भुसजस्‍तै पारिदिन्‍छन्‌। तिनले उनीहरूलाई खेद्‌छन्, अघि कहिल्‍यै यात्रा नगरेका बाटाहरू भएर तिनी विनाक्षति बढ्‌दैजान्‍छन्‌। प्रारम्‍भदेखि पुस्‍ताहरूलाई बोलाएर यो काम पूरा गर्ने को हो? के म नै होइन र? म, परमप्रभु, तिनीहरूका पहिलो र पछिल्‍लोसित रहने म उही नै हुँ।” टापूहरूले यो देखे र डराए। पृथ्‍वीका पल्‍लो छेउसम्‍मका देशहरू कामे। तिनीहरू नजिक गई अगाड़ि आउँछन्‌। एउटाले अर्कोलाई सहायता गर्छ, र आफ्‍नो भाइलाई भन्‍छ, “ढाड़स गर।” निपुण कारीगरले सुनारलाई साहस दिन्‍छ र लिहीमाथि चुट्‌नेलाई घनले सम्‍म्‍याउनेले प्रोत्‍साहन दिन्‍छ। त्‍यसले रसायनको विषयमा भन्‍छ, “यो असलै छ,” र त्‍यो नहल्‍लिओस्‌ भनेर मूर्तिलाई कीला ठोकेर बलियो बनाउँछ। “तर तँ, ए इस्राएल मेरो दास, याकूब, जसलाई मैले छानेको छु। मेरो मित्र अब्राहामको वंश, तँलाई मैले पृथ्‍वीको अन्‍तदेखि समातेर ल्‍याएँ, र पृथ्‍वीको पल्‍लो छेउदेखि तँलाई बोलाएँ। मैले भनें, ‘तँ मेरो दास होस्‌।’ मैले तँलाई छानेको छु, र तँलाई इन्‍कार गरेको छैनँ। यसैले नडरा, किनकि म तँसित छु। निरुत्‍साहित नहो, किनकि म तेरा परमेश्‍वर हुँ। म तँलाई बलियो पार्नेछु। म तँलाई सहायता गर्नेछु। मेरो धार्मिकताको दाहिने हातले म तँलाई सम्हाल्‍नेछु।