यशैया 40:1-11

यशैया 40:1-11 NNRV

तिमीहरूका परमेश्‍वर भन्‍नुहुन्‍छ, मेरो प्रजालाई सान्‍त्‍वना, सान्‍त्‍वना। विनम्र भएर यरूशलेमलाई भन। त्‍यसका दासत्‍वको सेवा पूरा भएको छ, त्‍यसका पापहरू क्षमा गरिएको छ अनि त्‍यसले परमप्रभुको हातबाट आफ्‍ना सबै पापका निम्‍ति दोबर पाएको छ भनी त्‍यसलाई घोषणा गर। कसैले बोलाइरहेको एउटा आवाज सुनिन्‍छ: “मरुभूमिमा परमप्रभुको निम्‍ति बाटो तयार गर। उजाड़-स्‍थानमा हाम्रा परमेश्‍वरको निम्‍ति मूलबाटो समतल बनाऊ। हरेक उपत्‍यका अल्‍गो बनाइनेछ, हरेक पर्वत र डाँड़ा होच्‍याइनेछ। बाङ्गो-टेढ़ो जग्‍गा सीधा बनाइनेछ, र खाल्‍टाखुल्‍टी समतल बनाइनेछ। अनि परमप्रभुको महिमा प्रकट गरिनेछ, र सारा मानव-जातिले त्‍यो एकैसाथ देख्‍नेछन्, किनकि परमप्रभुको मुखले नै भनेको छ।” एउटा आवाजले भन्‍छ, “करा।” अनि मैले भने, “म के भनेर कराऊँ?” “सबै प्राणी घाँसजस्‍तै हुन्, र तिनका सबै गौरव घाँसको फूलजस्‍ता। घाँस ओइलाउँछ, फूल झरिहाल्‍छ, किनभने परमप्रभुको सास तीमाथि फुकिन्‍छ। निश्‍चय नै मानिसहरू घाँस नै हुन्‌। घाँस ओइलाउँछ, फूलहरू झरिहाल्‍छ, तर हाम्रा परमेश्‍वरको वचन सधैँभरि अटल रहनेछ।” सियोनलाई शुभ समाचार सुनाउने हो, तिमी अग्‍लो पर्वतमा जाऊ। यरूशलेमलाई शुभ समाचार सुनाउने हो, जोडसँग तिम्रो सोर उचाल, सोर उचाल, नडराऊ। यहूदाका नगरहरूलाई भन, “हेर, तिमीहरूका परमेश्‍वर यहीँ हुनुहुन्‍छ!” हेर, परमप्रभु परमेश्‍वर पराक्रमसाथ आउँदैहुनुहुन्‍छ, र उहाँको हातले शासन गर्नुहुन्‍छ। हेर, उहाँको इनाम उहाँसितै छ, र उहाँको प्रतिफल उहाँकै साथमा छ। उहाँले आफ्‍नो बगाललाई गोठालाले झैँ चराउनुहुन्‍छ। उहाँले थुमाहरूलाई आफ्‍नै अँगालोमा लिनुहुन्‍छ, र तिनीहरूलाई आफ्‍नै हृदयको नजिक बोक्‍नुहुन्‍छ। उहाँले ससाना बच्‍चा भएकालाई चाहिँ बिस्‍तार-बिस्‍तार डोर्‍याउनुहुन्‍छ।