यशैया 25:4-9

यशैया 25:4-9 NNRV

तपाईं गरीबहरूका निम्‍ति र दु:खमा परेका दरिद्रहरूका निम्‍ति एउटा शरण हुनुभएको छ, आँधीबेहरीमा शरण र घाममा छाया हुनुभएको छ। किनकि निष्‍ठुरहरूको झोँक पर्खालमा ठोकिएको आँधीझैँ हो, र मरुभूमिमा ताप परेझैँ हो। तपाईंले विदेशीहरूको हल्‍लालाई साम्‍य पार्नुहुन्‍छ। बादलले घामलाई छाया पारेझैँ निष्‍ठुरहरूको गीत तपाईंले बन्‍द गरिदिनुहुन्‍छ। सर्वशक्तिमान्‌ परमप्रभुले यसै पर्वतमा सारा मानिसहरूका निम्‍ति मीठा-मीठा थोकहरू— छिप्‍पिएको मद्य, असल-असल स्‍वादिष्‍ट थोकहरू, सबैभन्‍दा असल मद्यको भोज लाउनुहुनेछ। उहाँले यही पर्वतमा सारा मानिसहरूलाई ढाक्‍ने वस्‍त्र र सारा जातिलाई छोप्‍ने तन्‍ना हटाइदिनुहुनेछ। उहाँले मृत्‍युलाई सदाको निम्‍ति निल्‍नुहुनेछ। परमप्रभु परमेश्‍वरले सबैका अनुहारबाट आँसु पुछिदिनुहुनेछ। उहाँले सारा पृथ्‍वीबाट आफ्‍नो प्रजाको निन्‍दा हटाइदिनुहुनेछ। परमप्रभुले भन्‍नुभएको छ। त्‍यस दिन तिनीहरूले यसो भन्‍नेछन्, “निश्‍चय उहाँ नै हाम्रा परमेश्‍वर हुनुहुन्‍छ, हामीले उहाँमाथि भरोसा गर्‍यौं र उहाँले नै हामीलाई बचाउनुभयो। उहाँ नै परमप्रभु हुनुहुन्‍छ, उहाँमाथि हामीले भरोसा गर्‍यौं। उहाँले गर्नुभएको उद्धारमा हामी खुशी होऔं र रमाऔं।”