तेरो आगमनमा तँलाई भेट्न चिहान पनि तेरो निम्ति चलमलाएको छ। त्यसले मरेर बिदा भइसकेका आत्माहरूलाई पनि तँलाई स्वागत गर्न जगाउँछ— ती सबै जना जो संसारमा नेताहरू थिए— त्यसले उनीहरूलाई आफ्ना सिंहासनबाट उठ्न लगाउँछ, ती सबै जो जाति-जातिहरूका राजाहरू थिए। उनीहरू सबैले तँलाई जवाफ दिएर भन्नेछन्, “तँ पनि हामीजस्तै निर्बल भएको छस्। तँ हामीजस्तै भएको छस्।” तेरा सबै रवाफ त तेरा वीणाको गुञ्जनसँगै चिहानमा झारिएका छन्। औँसा तेरो ओछ्यान र कीरा तेरो ओढ्ने भएका छन्। ए बिहानको तारा, प्रभातको पुत्र, तँ स्वर्गबाट कसरी खसेको छस्! उहिले जाति-जातिहरूलाई होच्याउने, तँ कसरी भूइँमा तल खसालिइस्। तैंले आफ्नो हृदयमा भनिस्, “म स्वर्गमा उक्लनेछु। परमेश्वरका ताराहरूभन्दा माथि म मेरो सिंहासनलाई उच्च पार्नेछु। पवित्र पर्वतको सबैभन्दा उच्च टाकुरामा सभासद्को पर्वतमा म विराजमान हुनेछु। म बादलको टुप्पाभन्दा माथि उक्लनेछु, म आफूलाई सर्वोच्च परमेश्वर जत्तिकै बनाउनेछु।” तर तँ चिहानसम्म, खाड़लको तल्लो गहिराइसम्मै होच्याइस्। तँलाई देख्नेहरूले तँलाई एक टक लाएर हेर्नेछन्, र तेरो भाग्यमाथि ध्यानसित गुनेर भन्नेछन्, “पृथ्वीलाई हल्लाउने तथा राज्यहरूलाई थरहरी पार्ने त्यो त्यही मानिस हो, जसले संसारलाई मरुभूमि बनायो र त्यसका सहरहरूलाई पराजय गर्यो? कैदीहरूलाई घर जानलाई नदिने के यो त्यही मानिस हो?” जाति-जातिका सबै राजाहरू, प्रत्येक आ-आफ्नै चिहानमा गौरवमा पस्रिरहेका छन्। तर तँचाहिँ त तेरो चिहानबाट नचाहिने हाँगाजस्तै फ्याँकिइस्। तँ तरवारले रोपिएकाहरूसँग, खाड़लका ढुङ्गाहरूमा खसेकाहरूसँग मारिएकाहरूले ढाकिएको छस्। तँ खुट्टाले कुल्चिएर पैतालामुनि परेको लाशझैँ भएको छस्।
यशैया 14 पढ्नुहोस्
सुन्नुहोस् यशैया 14
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यशैया 14:9-19
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू