हिब्रू 7:1-10

हिब्रू 7:1-10 NNRV

यिनै मल्‍कीसेदेक शालेमका राजा र सर्वोच्‍च परमेश्‍वरका पूजाहारी थिए। राजाहरूलाई परास्‍त गरेर फर्कंदा यिनले अब्राहामलाई भेटे, र तिनलाई आशीर्वाद दिए। यिनैलाई अब्राहामले सबै थोकको दशांश छुट्ट्याइदिए। यिनको नाउँको अर्थअनुसार यिनी पहिले धार्मिकताका राजा र त्‍यसपछि चाहिँ शालेमका राजा हुन्, अर्थात्‌ शान्‍तिका राजा। विनापिता, विनामाता, विनावंशावली, जीवनको आदि र अन्‍त्‍य नभएका, तर परमेश्‍वरका पुत्र स्‍वरूप, यिनी सदाकाल पूजाहारी भइरहन्‍छन्‌। अब विचार गर त, यिनी कस्‍ता महान्‌ पुरुष थिए, जसलाई अब्राहाम कुलपिताले पनि विजयमा हासिल गरेका थोकहरूको दशांश दिए? पूजाहारी पदमा नियुक्त भएका लेवी वंशका मानिसहरूले आफ्‍नै दाजुभाइहरूबाट दशांश लिने आज्ञा व्‍यवस्‍थाबमोजिम पाएका थिए, यद्यपि तिनीहरू पनि अब्राहामकै सन्‍तान थिए। तर लेवीका वंशावलीमा नपर्ने यिनै मानिसले अब्राहामबाट दशांश लिएका हुन्, र प्रतिज्ञाहरू पाउनेलाई नै यिनले आशीर्वाद दिएका हुन्‌। यसमा विवाद गर्ने केही कुरै छैन, कि सानाले ठूलाबाट आशीर्वाद पाउँछ। एकातिर मरणशील मानिसहरूले दशांश लिन्‍छन्, अर्कोतिर सदाकाल जीवित रहन्‍छन्‌ भनी घोषणा गरिएका उनै एक जनाले सो लिन्‍छन्‌। कसैले यो पनि भन्‍न सक्‍छ, कि दशांश पाउने लेवीले पनि अब्राहामद्वारा नै दशांश दिए। किनभने मल्‍कीसेदेकले अब्राहामलाई भेट्‌दा लेवी आफ्‍ना पिताको शरीरभित्रै थिए।