हिब्रू 13:17-25

हिब्रू 13:17-25 NNRV

तिमीहरूका अगुवाहरूको आज्ञापालन गर, र तिनीहरूका अधीनमा बस। किनकि लेखा दिनुपर्छ भन्‍ने कुरा जानेर नै तिनीहरूले तिमीहरूका प्राणको हेरचाह गर्छन्‌। यो काम तिनीहरूले आनन्‍दसाथ गरून्‌। दुःख मानेर होइन, नत्रता त्‍यसबाट तिमीहरूलाई कुनै लाभ हुँदैन। हाम्रो निम्‍ति प्रार्थना गर। हामीलाई निश्‍चय छ कि हाम्रो विवेक स्‍वच्‍छ छ, र सबै कुरा ईमानदारीसाथ गर्ने हाम्रो अभिलाषा छ। तिमीहरूलाई मेरो विशेष आग्रह यो छ, कि मेरो निम्‍ति प्रार्थना गरिदेओ, र म फेरि तिमीहरूकहाँ चाँड़ै आउन सकूँ। अब भेड़ाका महान्‌ गोठाला हाम्रा प्रभु येशूलाई अनन्‍त करारको रगतद्वारा मृत्‍युबाट जीवित पार्नुहुने शान्‍तिका परमेश्‍वरले तिमीहरूलाई हरेक असल गुणले सिद्ध पारून्, र तिमीहरूले उहाँको इच्‍छा पूरा गर्न सक। जे परमेश्‍वरलाई मनपर्दो छ येशू ख्रीष्‍टद्वारा उहाँले तिमीहरूमा गरून्‌। उहाँको महिमा युगानयुग भइरहोस्‌। आमेन। भाइ हो, म तिमीहरूलाई निवेदन गर्दछु, कि मेरो अर्तीका कुरालाई मान, किनकि तिमीहरूलाई मैले छोटकरीमा लेखेको छु। तिमीहरूलाई यो थाहा दिन चाहन्‍छु, कि हाम्रो भाइ तिमोथी कैदबाट छुटेका छन्‌। यदि उनी चाँड़ै आए भने म उनको साथमा तिमीहरूलाई भेट्‌न आउनेछु। तिमीहरूका सबै अगुवाहरू र सबै सन्‍तहरूलाई अभिवादन देओ। इटालियाबाट आएकाहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्‌। तिमीहरू सबैसँग अनुग्रह रहोस्‌। आमेन।