हिब्रू 11:32-40

हिब्रू 11:32-40 NNRV

अरू बढ़ी म के भनूँ? किनकि गिदोन, बाराक, शिमशोन, यिप्‍ताको बारेमा, र दाऊद, शमूएल र अगमवक्ताहरूका विषयमा भनिरहन मलाई समय छैन— जसले विश्‍वासद्वारा राज्‍यहरू कब्‍जा गरे, न्‍याय स्‍थापना गरे, प्रतिज्ञाहरू हासिल गरे, सिंहका मुखहरू थुनिदिए, आगोका ज्‍वालाहरू निभाए, तरवारका धारबाट उम्‍के, कमजोरीबाट बलिया भए, युद्धमा वीर भए, विदेशीहरूका फौजलाई भगाए। स्‍त्रीहरूले आफ्‍ना मरेकाहरूलाई पुनरुत्‍थानद्वारा जीवित पाए। अरूहरूले मृत्‍युपछि अझ उत्तम जीवन प्राप्‍त गर्नलाई छुटकारा इन्‍कार गरेर बरु सास्ती भोगे। अरूहरूले गिल्‍ला, कोर्राबाजी, बन्‍धन र कैद पनि भोग्‍नुपर्‍यो। तिनीहरूलाई ढुङ्गाले हाने। तिनीहरू करौँतीले चिरिए। तिनीहरू तरवारले मारिए। भेड़ा र बाख्राका छालाहरू लाएर कङ्गाल भई क्‍लेश र दुःख पाएर तिनीहरू यताउता डुलिहिँड़े। संसार तिनीहरूका निम्‍ति योग्‍यको थिएन। मरुभूमि, पहाड़हरू, गुफाहरू र पृथ्‍वीका ओड़ारहरू हुँदो तिनीहरूलाई घुमिहिँड्‌नुपर्‍यो। तिनीहरू सबैले आफ्‍ना विश्‍वासको निम्‍ति ठूलो प्रशंसा पाए, तर प्रतिज्ञा गरिएका कुराचाहिँ पाएनन्‌। परमेश्‍वरले हाम्रा लागि अझ असल योजना राख्‍नुभएको थियो, ताकि हामीसँग मात्रै तिनीहरू सिद्ध तुल्‍याइऊन्‌।