हिब्रू 10:19-39

हिब्रू 10:19-39 NNRV

यसकारण भाइ हो, येशूको रगतद्वारा महापवित्र स्‍थानमा प्रवेश गर्ने साहस हामीलाई हुन्‍छ। हाम्रा निम्‍ति एउटा नयाँ र जीवित मार्ग उहाँले खोलिदिनुभयो, जसको कारण पर्दाद्वारा, अर्थात्‌ उहाँको शरीरद्वारा भएर हामी भित्र पस्‍न सक्‍छौं। परमेश्‍वरको घरानामा हाम्रा एक जना महान्‌ पूजाहारी हुनुभएको हुनाले, हाम्रा हृदय खराब विवेकबाट छर्कोद्वारा चोख्‍याइएर र शुद्ध पानीले हाम्रो शरीरलाई धोएर साँचो हृदयले विश्‍वासको सम्‍पूर्ण भरोसामा हामी परमेश्‍वरको समीप जाऔं। हामीले दृढ़ स्‍वीकार गरेको आशालाई दोधार नभईकन दह्रिलोसँग थामिराखौं, किनकि जसले प्रतिज्ञा गर्नुभयो, उहाँ विश्‍वासयोग्‍य हुनुहुन्‍छ। हामी एउटाले अर्कालाई प्रेम र असल कामको निम्‍ति कसरी उत्‍साहित गराउने त्‍यस कुरामाथि विचार गरौं। कति जनाको सङ्गतिमा नजाने बानी हुन्‍छ, तर हामीचाहिँ एकसाथ भेला हुन नछोडौं। तर प्रभुको दिन नजिक आइरहेको तिमीहरूले देखेका हुनाले एउटाले अर्कालाई झन्‌ प्रोत्‍साहन देओ। किनकि यदि सत्‍यताको ज्ञान पाएर पनि हामीले जानी-जानी पाप गर्‍यौं भने पापको निम्‍ति अब उसो अरू कुनै बलिदान रहँदैन, तर इन्‍साफको डरलाग्‍दो प्रतीक्षा र विरोधीहरूलाई भस्‍म गर्ने क्रोधको अग्‍नि मात्र रहनेछ। मोशाको व्‍यवस्‍थालाई उल्‍लङ्घन गर्ने मानिस दुई वा तीन साक्षीहरूका गवाहीमा दयाविना मर्नुपर्छ। तिमीहरू आफै विचार गर: परमेश्‍वरका पुत्रलाई खुट्टामुनि कुल्‍चने, आफूलाई पवित्र तुल्‍याएको करारको रगतलाई अपवित्र बनाउने र अनुग्रहका आत्‍मालाई अपमान गर्नेचाहिँ झन्‌ कति बढ़ी कड़ा दण्‍डको योग्‍य ठहरिनेछ। किनकि “प्रतिशोध लिने काम मेरो हो, प्रतिफल म दिनेछु” भन्‍नुहुनेलाई हामी चिन्‍छौं। यसो पनि भनिएको छ, “परमप्रभुले आफ्‍ना मानिसहरूको इन्‍साफ गर्नुहुनेछ।” जीवित परमेश्‍वरको हातमा पर्नु डरलाग्‍दो कुरो हो। ती अघिका दिनहरूलाई सम्‍झ, त्‍यस बेला प्रकाश पाएपछि तिमीहरू कष्‍टहरूसहित कठोर सङ्घर्षमा स्‍थिर रहेका थियौ। कहिले त निन्‍दा र कष्‍टहरूले अरूको तमाशा बनाइएका थियौ भने कहिलेचाहिँ त्‍यस्‍तै अवस्‍थामा परेकाहरूसँगसँगै सहभागी भएका थियौ। कैदीहरूमाथि तिमीहरूले दया देखायौ, आफ्‍नो सम्‍पत्ति लुटिँदा पनि हर्षसाथ सह्यौ, किनकि तिमीहरू जान्‍दथियौ, कि तिमीहरूको आफ्‍नै अझ उत्तम र सदा रहने सम्‍पत्ति छ। त्‍यसकारण आफ्‍नो यो भरोसा नत्‍याग, जसमा ठूलो इनामको प्रतिफल छ। परमेश्‍वरको इच्‍छा पूरा गर्न र प्रतिज्ञा गरिएको प्रतिफल प्राप्‍त गर्न तिमीहरूलाई स्‍थिर रहनु आवश्‍यक छ। किनकि अब एकै छिनमा, “आउनुहुनेचाहिँ आउनु नै हुनेछ, र बियाँलो गर्नुहुनेछैन। तर मेरो धार्मिक जनचाहिँ विश्‍वासद्वारा बाँच्‍नेछ, र यदि ऊ पछि हट्‌छ भनेता म उसँग खुशी हुनेछैनँ।” तर हामी पछि हट्‌ने र विनाश पारिनेहरूमध्‍येका होइनौं, तर विश्‍वास गरी बचाइएकाहरूमध्‍येका हौं।