हिब्रू 10:11-22

हिब्रू 10:11-22 NNRV

हरेक पूजाहारी एकै किसिमको बलि बारम्‍बार चढ़ाउँदै प्रतिदिन सेवामा खड़ा रहन्‍छ, जुन बलिले कहिल्‍यै पाप हरण गर्न सक्‍दैन। तर ख्रीष्‍टले त पापहरूका निम्‍ति सदाको लागि एउटै बलिदान चढ़ाउनुभयो, अनि उहाँ परमेश्‍वरको दाहिने बाहुलीतर्फ विराजमान हुनुभयो। र उहाँका शत्रुहरू उहाँको पाउदान नहोउञ्‍जेल उहाँ पर्खिरहनुहुन्‍छ। किनकि एउटै बलिद्वारा जो पवित्र तुल्‍याइँदैछन्, तिनीहरूलाई उहाँले सदाको निम्‍ति सिद्ध बनाउनुभएको छ। पवित्र आत्‍माले पनि हामीलाई गवाही दिनुहुन्‍छ। पहिला उहाँ भन्‍नुहुन्‍छ, “ती दिनपछि तिनीहरूसँग बाँध्‍ने मेरो करार यही हो, परमप्रभु भन्‍नुहुन्‍छ, तिनीहरूका हृदयमा म मेरो व्‍यवस्‍था राखिदिनेछु, र तिनीहरूका मनमा पनि म त्‍यो लेखिदिनेछु।” तब उहाँ भन्‍नुहुन्‍छ, “तिनीहरूका पाप र तिनीहरूका दुष्‍कर्महरू म फेरि सम्‍झनेछैनँ।” अब जहाँ यी सबैको क्षमा हुन्‍छ, त्‍यहाँ अब फेरि पापको निम्‍ति कुनै बलि छैन। यसकारण भाइ हो, येशूको रगतद्वारा महापवित्र स्‍थानमा प्रवेश गर्ने साहस हामीलाई हुन्‍छ। हाम्रा निम्‍ति एउटा नयाँ र जीवित मार्ग उहाँले खोलिदिनुभयो, जसको कारण पर्दाद्वारा, अर्थात्‌ उहाँको शरीरद्वारा भएर हामी भित्र पस्‍न सक्‍छौं। परमेश्‍वरको घरानामा हाम्रा एक जना महान्‌ पूजाहारी हुनुभएको हुनाले, हाम्रा हृदय खराब विवेकबाट छर्कोद्वारा चोख्‍याइएर र शुद्ध पानीले हाम्रो शरीरलाई धोएर साँचो हृदयले विश्‍वासको सम्‍पूर्ण भरोसामा हामी परमेश्‍वरको समीप जाऔं।