उत्‍पत्ति 9:1-17

उत्‍पत्ति 9:1-17 NNRV

त्‍यसपछि परमेश्‍वरले नोआ र तिनका छोराहरूलाई आशिष्‌ दिएर भन्‍नुभयो, “फल्‍दै-फुल्‍दै, वृद्धि हुँदै र पृथ्‍वीमा भरिँदैजाओ। पृथ्‍वीका सबै पशुहरू र आकाशका सबै पक्षीहरू र जमिनमा घस्रने सबै प्राणीहरू र समुद्रका सबै माछाहरूमा तिमीहरूको डर र त्रास हुनेछ। तिमीहरूकै हातमा ती सुम्‍पिएका हुन्‍छन्‌। जीवित-जीवात सबै तिमीहरूका निम्‍ति आहारा हुनेछन्‌। मैले हरिया वनस्‍पति तिमीहरूलाई दिएझैँ सबै थोक म तिमीहरूलाई दिन्‍छु। “तर मासु त्‍यसको प्राण दिने रगतसमेत नखाओ। र तिमीहरूको प्राण दिने रगतको सट्टा म निश्‍चय लेखा लिनेछु। हरेक पशुदेखि म प्राणको साटो लिनेछु, र हरेक मानिसदेखि पनि आफ्‍नो दाजुभाइका प्राणको साटो म लिनेछु। जसले मानिसको रक्तपात गर्छ, मानिसबाटै त्‍यसको रक्तपात हुनेछ, किनभने परमेश्‍वरले मानिसलाई आफ्‍नै स्‍वरूपमा बनाउनुभएको हो। तिमीहरूचाहिँ फल्‍दै-फुल्‍दै जाओ। पृथ्‍वीमा प्रशस्‍तसँग बालकहरू जन्मून्, र संख्‍यामा तिनीहरूको वृद्धि हुँदैजाओस्‌।” तब परमेश्‍वरले नोआ र तिनका छोराहरूलाई यसो भन्‍नुभयो, “तिमीहरू र तिमीहरूका भावी सन्‍तानसित, तथा जहाजबाट तिमीहरूसित निस्‍केर आएका सबै जीवित प्राणीहरू— अर्थात्, पक्षीहरू, पालिने पशुहरू, वन-पशुहरू— तिमीहरूसित भएका पृथ्‍वीका सबै जीव-जन्‍तुहरूसित म मेरो करार स्‍थापित गर्दछु। म तिमीहरूसित मेरो यो करार स्‍थापित गर्दछु, कि सबै प्राणी फेरि कहिल्‍यै प्रलयको पानीले नष्‍ट हुनेछैनन्, अनि पृथ्‍वीलाई सर्वनाश गर्न फेरि कहिल्‍यै जलप्रलय हुनेछैन।” अनि परमेश्‍वरले भन्‍नुभयो, “जुन करार मेरो र तिमीहरू र तिमीहरूका साथमा भएको हरेक जीवित प्राणीको बीचमा सबै पुस्‍तौँसम्‍मको निम्‍ति म ठहराउँदैछु, त्‍यसको चिन्‍ह यही हुन्‍छ। म बादलमा मेरो इन्‍द्रेनी राख्‍तछु, र मेरो र पृथ्‍वीको बीचमा त्‍यो एउटा करारको चिन्‍ह हुनेछ। जहिले-जहिले म पृथ्‍वीमा बादल फिँजाउँछु र बादलमा इन्‍द्रेनी देखा पर्छ, मेरो र तिमीहरू अनि हरेक किसिमको जीवित प्राणीको बीचमा रहेको मेरो करार म सम्‍झनेछु। पानीले फेरि कहिल्‍यै सबै प्राणीलाई नाश गर्ने प्रलय ल्‍याउनेछैन। जुन बेला बादलमा इन्‍द्रेनी देखा पर्छ, म त्‍यो हेरेर यो सधैँको करारलाई सम्‍झनेछु, जो परमेश्‍वर र पृथ्‍वीका सबै जीवित-जीवातसँग बाँधिएको छ।” यसरी परमेश्‍वरले नोआलाई भन्‍नुभयो, “मैले पृथ्‍वीका सारा प्राणी र मेरो बीचमा बाँधेको करारको चिन्‍ह यही हो।”