उत्‍पत्ति 9:1-11

उत्‍पत्ति 9:1-11 NNRV

त्‍यसपछि परमेश्‍वरले नोआ र तिनका छोराहरूलाई आशिष्‌ दिएर भन्‍नुभयो, “फल्‍दै-फुल्‍दै, वृद्धि हुँदै र पृथ्‍वीमा भरिँदैजाओ। पृथ्‍वीका सबै पशुहरू र आकाशका सबै पक्षीहरू र जमिनमा घस्रने सबै प्राणीहरू र समुद्रका सबै माछाहरूमा तिमीहरूको डर र त्रास हुनेछ। तिमीहरूकै हातमा ती सुम्‍पिएका हुन्‍छन्‌। जीवित-जीवात सबै तिमीहरूका निम्‍ति आहारा हुनेछन्‌। मैले हरिया वनस्‍पति तिमीहरूलाई दिएझैँ सबै थोक म तिमीहरूलाई दिन्‍छु। “तर मासु त्‍यसको प्राण दिने रगतसमेत नखाओ। र तिमीहरूको प्राण दिने रगतको सट्टा म निश्‍चय लेखा लिनेछु। हरेक पशुदेखि म प्राणको साटो लिनेछु, र हरेक मानिसदेखि पनि आफ्‍नो दाजुभाइका प्राणको साटो म लिनेछु। जसले मानिसको रक्तपात गर्छ, मानिसबाटै त्‍यसको रक्तपात हुनेछ, किनभने परमेश्‍वरले मानिसलाई आफ्‍नै स्‍वरूपमा बनाउनुभएको हो। तिमीहरूचाहिँ फल्‍दै-फुल्‍दै जाओ। पृथ्‍वीमा प्रशस्‍तसँग बालकहरू जन्मून्, र संख्‍यामा तिनीहरूको वृद्धि हुँदैजाओस्‌।” तब परमेश्‍वरले नोआ र तिनका छोराहरूलाई यसो भन्‍नुभयो, “तिमीहरू र तिमीहरूका भावी सन्‍तानसित, तथा जहाजबाट तिमीहरूसित निस्‍केर आएका सबै जीवित प्राणीहरू— अर्थात्, पक्षीहरू, पालिने पशुहरू, वन-पशुहरू— तिमीहरूसित भएका पृथ्‍वीका सबै जीव-जन्‍तुहरूसित म मेरो करार स्‍थापित गर्दछु। म तिमीहरूसित मेरो यो करार स्‍थापित गर्दछु, कि सबै प्राणी फेरि कहिल्‍यै प्रलयको पानीले नष्‍ट हुनेछैनन्, अनि पृथ्‍वीलाई सर्वनाश गर्न फेरि कहिल्‍यै जलप्रलय हुनेछैन।”