योसेफ आफ्ना बुबामाथि घोप्टो परेर रोए, र तिनलाई म्वाइँ खाए। तब योसेफले आफ्नो सेवामा हुने वैद्यहरूलाई आफ्ना पिताको लाशमा सुगन्धित लेप मल्न लगाए। यसकारण ती वैद्यहरूले इस्राएलको लाशमा सुगन्धित लेप मले। यसको निम्ति चालीस दिन लागेको थियो, किनकि सुगन्धित लेप लाउन यति नै दिन लाग्थ्यो। तिनको निम्ति मिश्रीहरूले पनि सत्तरी दिन शोक मनाए। तिनको निम्ति शोक मनाउने दिन बितेपछि योसेफले फारोका भारदारहरूसँग यसरी कुरा गरे, “यदि तिम्रो निगाह ममाथि छ भने कृपा गरी यो मेरो कुरा फारोकहाँ लगिदेओ। मेरा बुबाले मलाई यसो भनेर शपथ खान लाउनुभयो: ‘म मर्न लागेको छु। कनान देशमा म आफैले खनेर बनाएको मेरो चिहानमा मलाई गाड्नू।’ यसकारण कृपा गरी गएर मेरा बुबालाई त्यहीँ गाड़ेर फर्किआउन पाऊँ।” फारोले जवाफ दिए, “तिमीलाई उनले शपथ खान लाएबमोजिम गएर तिम्रा बुबालाई गाड़।” यसैले आफ्ना बुबालाई गाड्न योसेफ गए। तिनका साथमा फारोका सारा अधिकारीहरू, उनका भारदारहरू र मिश्रका सबै मुख्य मानिसहरू, साथै योसेफका परिवारका सबै र तिनका दाजुभाइहरू र तिनका बुबाका परिवारका सबै गए। केवल तिनीहरूका बालबच्चा, तिनीहरूका बगाल र बथानहरू गोशेन प्रदेशमा नै छोड़िएर रहे। तिनका साथमा रथहरू र घोड़चढ़ीहरू पनि गए। त्यो एउटा ठूलो मलामीको समूह थियो। जब तिनीहरू यर्दननेरको आतादको खलामा आइपुगे, तब तिनीहरूले साह्रै अफसोस गरेर रुवाबासी गरे। अनि त्यहाँ योसेफले सात दिनसम्म आफ्ना बुबाको निम्ति विलाप गरे। त्यस देशका बासिन्दा कनानीहरूले आतादको खलामा गरेको विलाप देखेर भने, “यो त मिश्रीहरूको ठूलो विलाप रहेछ।” यसकारण यर्दननेरको त्यस ठाउँको नाउँ हाबिल-मिश्रइम राखियो। त्यो यर्दन पारिपट्टि छ।
उत्पत्ति 50 पढ्नुहोस्
सुन्नुहोस् उत्पत्ति 50
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 50:1-11
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू