उत्‍पत्ति 44:18-34

उत्‍पत्ति 44:18-34 NNRV

तब यहूदाले तिनको सामुन्‍ने गएर भने, “हे मेरा प्रभु, बिन्‍ती छ, दासलाई एउटा कुरा गर्ने अनुमति दिनुहोस्‌। हजूर राजासमान हुनुभए तापनि आफ्‍नो दासप्रति रिसानी माफ रहोस्‌। हजूरले आफ्‍ना दासहरूलाई यसो भनेर सोध्‍नुभएको थियो, ‘के तिमीहरूका बुबा अथवा भाइ छ कि?’ र हामीले हजूरलाई भन्‍यौं, हाम्रा बुबा एक वृद्ध मानिस हुनुहुन्‍छ, र उहाँको वृद्धावस्‍थाको बालक हाम्रो एउटा सानो भाइ पनि छ। त्‍यसका दाजु मरिसके, र आफ्‍नी आमापट्टिको अब त्‍यो मात्र छ, र त्‍यसका बुबाले त्‍यसलाई खूबै माया गर्नुहुन्‍छ। “तब हजूरले आफ्‍ना दासहरूलाई भन्‍नुभयो, ‘त्‍यसलाई यहाँ मकहाँ ल्‍याओ, र म त्‍यसलाई हेर्छु।’ हामीले हजूरलाई भन्‍यौं, ‘त्‍यस केटाले आफ्‍ना बुबालाई छोड्‌न सक्‍दैन। किनकि यदि त्‍यसले आफ्‍ना बुबालाई छोड्‌नुपर्‍यो भने त्‍यसका बुबाचाहिँ मरिजानुहुन्‍छ।’ तर हजूरले आफ्‍ना दासहरूलाई भन्‍नुभयो, ‘तिमीहरूको कान्‍छो भाइ तिमीहरूसँग आएन भने तिमीहरू फेरि मेरो सामु आउन पाउनेछैनौ।’ तब हामी हाम्रा बुबा, हजूरका दासकहाँ गयौं। अनि उहाँलाई हजूरका कुरा सुनायौं। “जब हाम्रा बुबाले ‘फेरि गएर अलिक अनाज किन’ भन्‍नुभयो, तब हामीले उहाँलाई भन्‍यौं, ‘हामी जान सक्‍दैनौं। यदि हाम्रो कान्‍छो भाइ हामीसित जाने हो भने मात्र हामी जान्‍छौं। किनकि हाम्रो कान्‍छो भाइ हामीसित गएन भनेता हामी ती मानिसको सामु जान पाउनेछैनौं।’ “तब हजूरका दास मेरा बुबाले हामीलाई भन्‍नुभयो, ‘मेरी पत्‍नीतर्फबाट दुई जना छोराहरू भएका तिमीहरूलाई थाहै छ। एउटाले मलाई छोड़िहाल्‍यो। निश्‍चय नै त्‍यसलाई धुजाधुजा पार्‍यो होला भनी मैले भनें। त्‍यहाँदेखि मैले त्‍यसलाई देखेको छैनँ। यसलाई पनि तिमीहरूले मबाट लगेर यदि केही खतरा त्‍यसमाथि आइपर्‍यो भने, तिमीहरूले मेरो यो फुलेको कपाल अफसोसमै चिहानमा पुर्‍याउनेछौ।’ “यसकारण हजूरका दास हाम्रा बुबाकहाँ पुग्‍दा त्‍यो केटो हामीसँग भएन भनेता उहाँको प्राण त्‍यही केटाको प्राणसँग गाँसिएको हुनाले, हाम्रा साथमा त्‍यो नभएको देख्‍ने बित्तिकै उहाँको मृत्‍यु हुनेछ। हामी हजूरका दासहरूले हाम्रा बुबाको फुलेको कपाल अफसोसमै चिहानमा पुर्‍याउनेछौं। हजूरको दास, म आफै यस केटाको निम्‍ति बुबाको अगि जमानी बसेको छु। अनि हाम्रा बुबालाई मैले यसो भनें: ‘यदि मैले त्‍यसलाई फर्काएर तपाईंकहाँ ल्‍याइनँ भनेता जीवनभरि म तपाईंको सामु दोषी ठहरिनेछु।’ “यसकारण अब बिन्‍ती छ, यस केटाको सट्टामा म, हजूरको दासलाई नै हजूरले आफ्‍नो कमारा तुल्‍याउनुहोस्, र यस केटाले चाहिँ यसका दाजुहरूसँग जान पाओस्‌। किनकि यो केटो मेरो साथमा छैन भने मेरा बुबाकहाँ म कसरी जानु? मेरा बुबामाथि आइपर्ने विपत्ति म हेर्न सक्‍दिनँ।”