उत्‍पत्ति 42:25-38

उत्‍पत्ति 42:25-38 NNRV

योसेफले उनीहरूका धोक्राहरूमा अनाज भरिदिनू र उनीहरूका आ-आफ्‍ना चाँदीका सिक्‍काहरू धोक्रामै हालिदिनू र उनीहरूको बाटोको निम्‍ति उनीहरूलाई सामलतुमल दिनू भनी हुकुम गरे। तिनीहरूका निम्‍ति त्‍यसै गरियो। तब आफ्‍ना गधाहरूमा अनाज लादेर उनीहरू त्‍यहाँबाट हिँड़े। वास बस्‍ने ठाउँमा उनीहरूमध्‍ये एक जनाले आफ्‍नो गधालाई दाना दिन धोक्रो फुकाउँदा आफ्‍नो चाँदी धोक्रोको मुखमै देखे। उनले आफ्‍ना दाजुभाइहरूलाई भने, “मेरो चाँदी त फर्काइदिएछन्‌ क्‍यारे! हेर, त्‍यो यहाँ मेरो धोक्रोको मुखैमा छ।” यसमा उनीहरूको हंसले ठाउँ छोड्‌यो, र उनीहरू थरथर काम्‍दै र एक-अर्कालाई हेराहेर गर्दै भन्‍न लागे, “परमेश्‍वरले हामीलाई यो के गर्न लाग्‍नुभयो?” जब उनीहरू कनान देशमा आफ्‍ना बुबा याकूबकहाँ आइपुगे, तब उनीहरूमाथि भएको कुरा सबै तिनलाई यसो भनेर बताए, “त्‍यस देशका मालिकले हामीसित कठोर बोली गरे। हामीलाई त तिनले त्‍यस देशमा जासूसजस्‍तै तुल्‍याए। तर ‘हामी सोझा मानिस हौं। हामी जासूस होइनौं। हाम्रा बुबाका हामी बाह्र भाइ छोरा हौं। एउटाचाहिँ छैन, र कान्‍छोचाहिँ यस बेला कनान देशमा हाम्रा बुबाको साथमा छ’ भनेर हामीले तिनलाई भन्‍यौं। “त्‍यस देशका ती मालिकले हामीलाई भने, ‘यस कुराबाट मात्र तिमीहरू सोझा मानिस रहेछौ भनी मलाई थाहा हुनेछ, कि तिमीहरूका दाजुभाइमध्‍ये एक जना यहाँ मसँग छोड़, र अनिकालमा तिमीहरूका परिवारको भोक मार्नलाई अनाज लिएर आफ्‍नो बाटो लाग। तर तिमीहरूको कान्‍छो भाइलाई यहाँ मकहाँ ल्‍याओ। तब मात्र तिमीहरू जासूस होइनौ, तर सीधा मानिस रहेछौ भन्‍ने मलाई थाहा हुनेछ, र म तिमीहरूको यस भाइलाई तिमीहरूका हातमा सुम्‍पनेछु, र तिमीहरू यस देशमा लेनदेन गर्न पाऔला’।” उनीहरूले आफ्‍ना धोक्राहरू खन्‍याउँदा उनीहरू हरेकका चाँदीको पोको आ-आफ्‍नो धोक्रोमा रहेछ। जब उनीहरूले र उनीहरूका बुबाले ती चाँदीका पोकाहरू देखे तब उनीहरू डराए। उनीहरूका बुबा याकूबले उनीहरूलाई भने, “तिमीहरूले त मेरा छोराहरू मबाट खोसेर मलाई अति शोकित तुल्‍याएका छौ। योसेफ छैन, शिमियोन छैन, अब बेन्‍यामीनलाई पनि लैजान खोज्‍छौ। यी सबै घटना मैमाथि पर्न आएको छ।” तब रूबेनले आफ्‍ना बाबुलाई भने, “यदि मैले बेन्‍यामीनलाई तपाईंकहाँ ल्‍याइनँ भने मेरा दुई छोराहरूको प्राण लिनुहोस्‌। बेन्‍यामीनलाई मेरो जिम्‍मामा दिनुहोस्‌। त्‍यसलाई म तपाईंकहाँ फर्काएर ल्‍याउनेछु।” तर याकूबले भने, “मेरो छोरो तिमीहरूसँग जानेछैन, किनकि त्‍यसको दाजु मरिहाल्‍यो, र अब यही मात्र बाँकी छ। यदि तिमीहरूले गर्न लागेको यात्रामा त्‍यसमाथि केही खतरा पर्न आयो भने, तिमीहरूले मलाई यो फुलेको कपाल अफसोसमै चिहानमा पुर्‍याउनेछौ।”