उत्‍पत्ति 41:38-46

उत्‍पत्ति 41:38-46 NNRV

अनि फारोले उनीहरूलाई भने, “यिनीजस्‍तो परमेश्‍वरका आत्‍मा भएको अन्‍य कुन मानिस हामी पाउन सक्‍छौं?” तब फारोले योसेफलाई भने, “परमेश्‍वरले तिमीलाई सबै कुरा देखाइदिनुभएको छ, र तिमीजस्‍तो चतुर र बुद्धिमान्‌ मानिस अरू छैन। यसकारण मेरो महलको अख्‍तियार चलाउने तिमी नै भयौ, र तिम्रै आज्ञाअनुसार मेरो समस्‍त प्रजा चल्‍नेछ। केवल सिंहासनको सम्‍बन्‍धमा मात्र म तिमीभन्‍दा माथि हुनेछु।” अनि फारोले योसेफलाई भने, “हेर, मैले तिमीलाई सम्‍पूर्ण मिश्रदेशमाथि अधिकार दिएको छु।” तब फारोले आफ्‍नो छाप-औँठी आफ्‍नो औँलाबाट फुकालेर योसेफको औँलामा लगाइदिए, र तिनलाई मलमलको लुगा पहिराइदिए, र तिनको गलामा सुनको सिक्री लगाइदिए। तिनलाई फारोले आफ्‍नो दोस्रो प्रशासकझैँ रथमा सवार गराए। मानिसहरू तिनको अगिअगि “घुँड़ा टेकेर झुक” भनी कराउँदै हिँड़े। यसरी फारोले तिनलाई सम्‍पूर्ण मिश्रदेशमाथि अधिकार दिए। फारोले फेरि पनि योसेफलाई भने, “म फारो हुँ, तर म यो भन्‍दछु कि तिम्रो इच्‍छाबाहेक अरू कुनै मानिसले मिश्रदेशभरि केही गर्न पाउनेछैन।” फारोले योसेफको नाउँ सापनत-पानेह राखे, र उनले तिनलाई ओनका पूजाहारी पोतीपेराकी छोरी आसनतसँग विवाह गरिदिए। त्‍यसपछि योसेफ मिश्रभरि दौड़ाहा गर्न लागे। मिश्रका राजा फारोको राजसेवामा नियुक्त हुँदा योसेफ तीस वर्ष पुगेका थिए। अनि योसेफ फारोको सम्‍मुखबाट निस्‍केर सारा मिश्रदेशभरि दौड़ाहा गर्न लागे।