उत्‍पत्ति 39:1-20

उत्‍पत्ति 39:1-20 NNRV

अब योसेफ मिश्रमा लगिए, र फारोका एक जना अधिकृत, अङ्गरक्षकका कप्‍तान पोतीफर भन्‍ने एक जना मिश्रीले तिनलाई त्‍यहाँ ल्‍याउने इश्‍माएलीहरूका हातबाट किने। परमप्रभु योसेफको साथमा हुनुहुन्‍थ्‍यो, र त्‍यहाँ तिनको उन्‍नति भयो। तिनी आफ्‍ना मिश्री मालिकको घरमा बस्‍थे। तिनका मालिकले परमप्रभु तिनको साथमा हुनुभएको र तिनले गरेका सबै काममा परमप्रभुले उन्‍नति गराउनुभएको देखे। यसैले उनको निगाह योसेफमाथि रह्यो। योसेफले उनको सेवा-शुश्रूषा गर्थे। उनले तिनलाई आफ्‍नो घरको मुख्‍य कारिन्‍दा तुल्‍याएर उनीसँग भएका सब थोकको जिम्‍मा तिनलाई दिए। उनले तिनलाई आफ्‍नो घरको र आफूसँग भएका सबै कुराको मुख्‍य कारिन्‍दा तुल्‍याएको समयदेखि परमप्रभुले योसेफको खातिर त्‍यस मिश्रीको घरमा आशिष्‌ दिनुभयो। परमप्रभुको आशिष्‌ उनको घरबार, अन्‍न-खेत र सबै कुरामाथि थियो। यसैले आफूसँग भएका सबै उनले योसेफको जिम्‍मामा छोड़िदिए। आफूले खाने भोजनबाहेक आफूसँग भएको अरू कुनै कुराको विषयमा उनी वास्‍ता राख्‍दैनथिए। योसेफ सुन्‍दर र हेर्नमा राम्रा थिए। केही समयपछि तिनका मालिककी पत्‍नीले योसेफमाथि नजर लगाएर भनिन्, “मसँग सुत्‌।” तर तिनले अस्‍वीकार गरेर आफ्‍ना मालिककी पत्‍नीलाई भने, “हेर्नुहोस्, म यस घरमा भएकोले गर्दा मेरा मालिकलाई यस घरमा भएको कुनै कुराको पनि फिक्री छैन, र उहाँसँग भएका सबै कुरा उहाँले मेरै जिम्‍मामा दिनुभएको छ। यस घरमा मभन्‍दा ठूलो कोही छैन। उहाँले तपाईंबाहेक सबै कुरा मलाई दिनुभएको छ, किनभने तपाईं उहाँकी पत्‍नी हुनुहुन्‍छ। तब कसरी यस्‍तो घोर दुष्‍ट काम गरेर परमेश्‍वरको विरुद्धमा मैले पाप गर्नु?” अनि तिनले दिनदिनै योसेफसँग कुरा गरे तापनि तिनीसित सुत्‍न अथवा तिनीसित बस्‍न योसेफ मानेनन्‌। एक दिन योसेफ आफ्‍नो काम गर्न घरभित्र गएका थिए। घरमा अरू कोही काम गर्ने मानिस थिएन। तिनले योसेफको लुगा समातेर भनिन्, मसित सुत्‌। तर आफ्‍नो लुगा तिनकै हातमा छोड़ेर योसेफ भागे, र घरबाट बाहिर निस्‍के। योसेफले आफ्‍नो लुगा तिनकै हातमा छोड़ेर घरबाट निस्‍केका देखेर तिनले आफ्‍ना घरका नोकरहरूलाई बोलाएर भनिन्, “हेर, मेरा स्‍वामीले त यहाँ एक हिब्रू हाम्रो बेइज्‍जत गर्न ल्‍याउनुभएको रहेछ। त्‍यो मसित सुत्‍नलाई यहाँभित्र आयो, र म चिच्‍च्‍याएर कराएँ। म चिच्‍च्‍याएर कराएकी सुनी त्‍यसले आफ्‍नो लुगा मसँग छोड़ेर भाग्‍यो, र घरबाट बाहिर निस्‍क्‍यो।” तिनका पति घर नआउञ्‍जेल तिनले त्‍यो लुगा आफ्‍नै साथमा राखिन्, र उनी आएपछि तिनले यसो भनेर उही कुरा उनलाई पनि सुनाइन्, “हामीकहाँ तपाईंले ल्‍याउनुभएको त्‍यो हिब्रू नोकर मेरो बेइज्‍जत गर्नलाई यहाँ भित्र आयो। तर म चिच्‍च्‍याएर कराउने बित्तिकै त्‍यसले आफ्‍नो यो लुगा मकहाँ छोड़ी भागेर घरबाट निस्‍क्‍यो।” “तपाईंको नोकरले मसँग यस्‍तो व्‍यवहार गर्‍यो” भन्‍ने कुरा जब योसेफका मालिकले आफ्‍नी पत्‍नीको मुखबाट सुने तब उनी रीसले राँकिए। उनले योसेफलाई राजाका कैदीहरू थुनिने झ्‍यालखानमा लगेर हालिदिए। योसेफ त्‍यसरी झ्‍यालखानमा परे।