याकूब आफ्ना बाबुले बसोबास गरेको कनान देशमा बस्थे। याकूबको वृत्तान्त यही हो। योसेफ सत्र वर्षका हुँदा तिनका दाजुहरूसँग भेड़ाबाख्राहरूका बगाल चराउँथे। एक दिन तिनले आफ्ना पिताका पत्नीहरू बिल्हा र जिल्पाका छोराहरूको खराब व्यवहारको कुरा आफ्ना बुबाकहाँ ल्याए। आफ्नो बुढ़ेसकालका छोरा भएकाले इस्राएलले अरू छोराहरूलाई भन्दा योसेफलाई बढ़ी माया गर्थे, र तिनले योसेफको निम्ति राम्रा बुट्टाहरू भएको एउटा लामो लबेदा बनाइदिए। तर तिनका बुबाले अरू दाजुभाइहरूलाई भन्दा तिनलाई बढ़ी माया गरेका देखी तिनका दाजुहरूले तिनीसित दुश्मनी राखे र तिनीसँग राम्ररी बोल्दैनथे। एक पल्ट योसेफले एउटा सपना देखे। तिनले त्यो सपना आफ्ना दाजुहरूलाई भनेपछि तिनीहरू उनीसँग झन् बढ़ी दुश्मनी राख्न लागे। तिनले उनीहरूलाई भने, “मैले देखेको सपना सुन्नुहोस्। हामीहरू खेतमा अन्नका बिटा बाँधिरहेका थियौं। मेरो बिटाचाहिँ ठाड़ो भयो, र तपाईंहरूका बिटाहरू त्यसका चारैतिर जम्मा भएर मेरो बिटालाई दण्डवत् गरे।” तिनका दाजुहरूले तिनलाई भने, “के तँ हामीमाथि राज्य गर्ने भइस्? के तेरो प्रभुत्व हामीमाथि हुने भयो?” अनि तिनको सपना र तिनका कुराहरूको कारणले उनीहरूले तिनीसँग झन् दुश्मनी राखे। तब तिनले अर्को सपना देखे र तिनका दाजुहरूलाई यसो भनेर बताए, “सुन्नुहोस्, मैले अर्को सपना देखें। सूर्य, चन्द्र र एघार वटा ताराले मलाई दण्डवत् गरिरहेका थिए।” जब तिनले आफ्ना बुबा र दाजुहरूलाई यो सपना बताए, तब तिनका बुबाले तिनलाई हप्काएर भने, “तैंले देखेको यो सपना के हो? के साँच्ची नै म र तेरी आमा र तेरा दाजुहरू आएर भूइँसम्मै झुकेर तँलाई ढोग्नुपर्ने?” तब तिनका दाजुहरूले तिनलाई डाह गर्न लागे। तर तिनका बाबुले चाहिँ यी कुरा मनैमा राखे।
उत्पत्ति 37 पढ्नुहोस्
सुन्नुहोस् उत्पत्ति 37
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 37:1-11
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू