याकूब पनि आफ्नो बाटो लागे, र परमेश्वरका दूतहरूले तिनीसँग भेट गरे। याकूबले उनीहरूलाई देखेर भने, “यो त परमेश्वरको छाउनी हो।” यसकारण तिनले त्यस ठाउँको नाउँ महनोम राखे। याकूबले एदोमका देशको सेइरमा आफ्ना दाजु एसावकहाँ आफ्नो अगि दूतहरू पठाए। याकूबले तिनीहरूलाई यसो भन्ने आज्ञा दिए: “तिमीहरूले मेरा मालिक एसावलाई यसो भन्नू, ‘तपाईंको दास याकूब यसो भन्छ, म लाबानसँग बसोबास गरी अहिलेसम्म त्यहीँ रहें। मसँग गाई-गोरु, गधा, भेड़ाबाख्रा र नोकर-चाकरहरू छन्, र तपाईंबाट निगाह पाइएला भन्ने हेतुले अहिले तपाईंकहाँ मैले बिन्ती गर्न पठाएको हुँ’।” ती दूतहरू याकूबकहाँ फर्केर आई यसो भने, “हामी तपाईंका दाजु एसावकहाँ गयौं, र उहाँ तपाईंसँग भेट गर्न चार सय मानिसहरूका साथमा आउँदैहुनुहुन्छ।” तब याकूब साह्रै डराएर आकुल भए। तिनले आफूसँग भएका मानिसहरू, भेड़ाबाख्राका बगालहरू, गाई-गोरुका बथानहरू र ऊँटहरूलाई दुई दलमा विभक्त गरे। “यदि एसाव आएर एक दललाई आक्रमण गरे पनि अर्को दल त उम्कन सक्ला” भनी तिनले सोचे। तब याकूबले प्रार्थना गरे, “हे मेरो पिता अब्राहामका परमेश्वर, र मेरो बुबा इसहाकका परमेश्वर, हे परमप्रभु, जसले मलाई ‘तँ तेरै देशमा तेरा कुटुम्बहरूकहाँ जा, र म तेरो भलाइ गर्नेछु’ भन्नुभएको थियो। तपाईंले आफ्नो दासलाई जत्ति करुणा र विश्वासयोग्यता देखाउनुभएको छ त्यसको म कत्ति पनि योग्य छैनँ। किनभने एउटा लाठो मात्र लिएर मैले यसो यर्दन नदी तरेको थिएँ। तर अहिले मेरा दुई वटा दल भएका छन्। म बिन्ती गर्दछु, मलाई मेरा दाजु एसावको हातबाट बचाउनुहोस्, किनकि उनीसँग मलाई डर लाग्छ, कि उनले आमा, छोराछोरीहरूसमेत हामी जम्मैलाई आक्रमण गर्लान्। तर तपाईंले भन्नुभएको छ, ‘साँच्ची नै म तेरो भलाइ गर्नेछु, र तेरा सन्तानहरू समुद्रका बालुवासरह तुल्याउनेछु, जो गन्न सकिने छैन’।”
उत्पत्ति 32 पढ्नुहोस्
सुन्नुहोस् उत्पत्ति 32
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 32:1-12
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू