उत्‍पत्ति 30:1-24

उत्‍पत्ति 30:1-24 NNRV

याकूबबाट आफ्‍नो केही सन्‍तान नभएको देखेर राहेलले आफ्‍नी दिदीसित डाह गर्न लागिन्‌। तिनले याकूबलाई भनिन्, “मलाई पनि सन्‍तान दिनुहोस्, नत्र म मर्नेछु।” याकूबले राहेलसित रिसाएर भने, “तिम्रो कोख थुनिदिने म परमेश्‍वरको स्‍थानमा छु र?” तब तिनले भनिन्, “मेरी कमारी बिल्‍हा यहीँ छे। त्‍यससँग सहवास गर्नुहोस्‌ र त्‍यसले मेरो निम्‍ति बच्‍चा जन्‍माओस्‌ र त्‍यसद्वारा मलाई पनि सन्‍तान मिलोस्‌।” यसकारण राहेलले आफ्‍नी कमारी बिल्‍हालाई याकूबकी पत्‍नीको रूपमा दिइन्, र याकूब त्‍यसकहाँ गए। बिल्‍हाले गर्भवती भएर याकूबबाट एक जना छोरो जन्‍माई। तब राहेलले भनिन्, “परमेश्‍वरले मलाई ठीक ठहराउनुभयो, र मेरो बिन्‍ती पनि सुनेर मलाई एक जना छोरो दिनुभयो।” यसकारण तिनले त्‍यसको नाउँ दान राखिन्‌। राहेलकी कमारी बिल्‍हा फेरि गर्भवती भई, र त्‍यसले याकूबबाट अर्को एक जना छोरो जन्‍माई। तब राहेलले भनिन्, “ज्‍यादै लड़न्‍त गरेर मैले मेरी दिदीलाई जितें।” यसैकारण तिनले त्‍यसको नाउँ नप्‍ताली राखिन्‌। आफूले जन्‍माउन छोड़ेको देखेर लेआले आफ्‍नी कमारी जिल्‍पालाई लगेर याकूबलाई पत्‍नीको रूपमा दिइन्‌। लेआकी कमारी जिल्‍पाले याकूबबाट एक जना छोरो जन्‍माई, र लेआले भनिन्, “भाग्‍यमानी।” यसैकारण तिनले त्‍यसको नाउँ गाद राखिन्‌। लेआकी कमारी जिल्‍पाले याकूबबाट अर्को एक जना छोरो जन्‍माई। अनि लेआले भनिन्, “म सुखी रहिछु। स्‍त्री जातिहरूले मलाई सुखी भन्‍नेछन्‌।” यसैले तिनले त्‍यसको नाउँ आशेर राखिन्‌। गहूँ फसलको बेलामा रूबेन खेतमा गए, र विशाखमूलहरू भेट्टाएर आफ्‍नी आमा लेआकहाँ ल्‍याए। राहेलले लेआलाई भनिन्, “कृपा गरी तपाईंको छोराले ल्‍याएका विशाखमूलहरूबाट मलाई केही दिनुहोस्।” तर लेआले तिनलाई भनिन्, “के मेरो पति मबाट खोस्‍नु सानो कुरो हो र, अब तिमी मेरो छोराको विशाखमूल पनि लिन खोज्‍छ्यौ?” राहेलले भनिन्, “त्‍यसो भए तपाईंको छोराको विशाखमूलको निम्‍ति आज राती उहाँ तपाईंसित सुत्‍नुहुन्‍छ।” साँझमा याकूब खेतबाट आउँदा लेआ तिनलाई भेट गर्न गइन्, र भनिन्, “तपाईं मकहाँ आउनुपर्छ, किनभने मेरो छोराका विशाखमूलहरूसँग तपाईंलाई भाड़ामा लिएकी छु।” यसकारण याकूब त्‍यस रात तिनीसित सुते। परमेश्‍वरले लेआको बिन्‍ती सुन्‍नुभयो, र तिनी गर्भवती भइन्, र याकूबबाट तिनले आफ्‍नो पाँचौँ छोरो जन्‍माइन्‌। तब लेआले भनिन्, “मैले मेरी कमारी मेरा पतिलाई दिएकी हुनाले परमेश्‍वरले मलाई मेरो इनाम दिनुभयो।” यसकारण तिनले त्‍यसको नाउँ इस्‍साखार राखिन्‌। लेआ फेरि गर्भवती भइन्, र याकूबबाट आफ्‍नो छैटौँ छोरो जन्‍माइन्‌। तब लेआले भनिन्, “परमेश्‍वरले मलाई अमूल्‍य उपहार दिनुभएको रहेछ। अब मेरो पतिले मलाई कदर गर्नुहुनेछ, किनभने मैले उहाँको निम्‍ति छ जना छोराहरू जन्‍माइसकें।” यसैकारण तिनले त्‍यसको नाउँ जबूलून राखिन्‌। केही समयपछि तिनले एउटी छोरी जन्माइन्, र तिनले त्‍यसको नाउँ दीना राखिन्‌। तब परमेश्‍वरले राहेललाई सम्‍झनुभयो, र तिनको बिन्‍ती सुनेर उहाँले तिनको गर्भ खोलिदिनुभयो। तिनी गर्भवती भएर एक जना छोरो जन्माइन्, र भनिन्, “परमेश्‍वरले ममाथि परेको निन्‍दा हटाइदिनुभयो।” तिनले त्‍यसको नाउँ योसेफ राखिन्‌। अनि तिनले भनिन्, “परमेश्‍वरले मलाई अर्को छोरो पनि देऊन्‌।”