उत्‍पत्ति 28:10-22

उत्‍पत्ति 28:10-22 NNRV

बेर्शेबा छोड़ेर याकूब हारानतिर लागे। कुनै एउटा ठाउँमा पुगेपछि सूर्य अस्‍ताएको हुनाले तिनी त्‍यस रात त्‍यहीँ वास बसे। त्‍यस ठाउँका ढुङ्गाहरूबाट एउटा लिएर तिनले आफ्‍नो सिरान बनाएर सुत्‍नलाई त्‍यहीँ पल्‍टे। तिनले यस्‍तो सपना देखे: जमिनमा खड़ा गरिएको एउटा भर्‍याङ रहेछ, र त्‍यसको टुप्‍पाचाहिँ आकाशसम्‍मै पुगेको रहेछ र परमेश्‍वरका दूतहरू त्‍यसमा उक्‍लने र ओर्लने गर्दारहेछन्‌। परमप्रभु त्‍यसमाथि उभिनुभयो, र याकूबलाई भन्‍नुभयो, “म परमप्रभु, तेरा पिता अब्राहामका परमेश्‍वर र इसहाकका परमेश्‍वर हुँ। जुन भूमिमा तँ ढल्‍किरहेको छस्‌ त्‍यो म तँलाई र तेरा सन्‍तानहरूलाई दिनेछु। तेरा सन्‍तान पृथ्‍वीको धूलोसरह हुनेछन्‌। पूर्व, पश्‍चिम, उत्तर र दक्षिणतिर फैलिएर तँ जानेछस्‌। तँ र तेरा सन्‍तानहरूद्वारा नै पृथ्‍वीका सबै मानिसहरू आशीर्वादी हुनेछन्‌। हेर्, म तँसँग छु र तँ जहाँसुकै गए तापनि तँलाई रक्षा गर्नेछु, र तँलाई यस ठाउँमा फर्काएर ल्‍याउनेछु। मैले तँलाई भनेको कुरा पूरा नगरुञ्‍जेल म तँलाई छोड्‌नेछैनँ।” तब याकूब निद्राबाट ब्‍यूँझेर भने, “निश्‍चय नै यस ठाउँमा परमेश्‍वर हुनुहुँदोरहेछ, र यो मलाई थाहा थिएन।” तिनी साह्रै डराए र तिनले भने, “यो ठाउँ कस्‍तो भययोग्‍य रहेछ। यो त परमेश्‍वरको घरबाहेक अरू केही होइन रहेछ। यो त स्‍वर्गको ढोका पो रहेछ।” याकूब बिहान सबेरै उठे, र आफूले सिरान बनाएको ढुङ्गा लिएर खामोजस्‍तै गरी खड़ा गरेर त्‍यसको टुप्‍पामा तेल खन्‍याए। तिनले त्‍यस ठाउँको नाउँ बेथेल राखे। पहिले त्‍यस ठाउँको नाउँ लूज थियो। तब याकूबले यसो भन्‍ने भाकल गरे, “यदि परमेश्‍वर मेरो साथमा रहनुभयो, मेरो यात्रामा मलाई रक्षा गर्नुभयो, मलाई खानलाई रोटी र लाउनलाई वस्‍त्र दिनुभयो, अनि म कुशलपूर्वक फेरि मेरा बुबाको घरमा आउन पाएँ भने, परमप्रभु नै मेरा परमेश्‍वर हुनुहुनेछ। र मैले खामो बनाएको यो ढुङ्गाचाहिँ परमेश्‍वरको घर हुनेछ, र तपाईंले मलाई दिनुभए जति सबैको दशांश म तपाईंलाई अवश्‍य चढ़ाउनेछु।”