उत्‍पत्ति 24:26-56

उत्‍पत्ति 24:26-56 NNRV

तब त्‍यस मानिसले आफ्‍नो शिर निहुराएर भक्तिसाथ परमप्रभुलाई दण्‍डवत्‌ गरेर भन्‍यो, “परमप्रभु, मेरा मालिक अब्राहामका परमेश्‍वर धन्‍यका हुनुहुन्‍छ, जसले मेरा मालिकप्रतिको दया र विश्‍वस्‍तता त्‍याग्‍नुभएको छैन। परमप्रभुले नै मलाई बाटोमा डोर्‍याएर मेरा मालिकका कुटुम्‍बको घरमा ल्‍याइदिनुभएको छ।” तब ती कन्‍या गइन्, र आफ्‍नी आमाका परिवारलाई सबै कुरा बताइन्‌। रिबेकाका लाबान नाउँ भएका एक जना दाजु थिए। लाबान निस्‍केर इनारनेर त्‍यस मानिस भएको ठाउँतिर दगुरेर गए। जब उनले आफ्‍नी बहिनीको नाकमा नत्‍थ र हातमा बाला देखे र “त्‍यस मानिसले मलाई यसो भन्‍यो” भन्‍ने कुरा आफ्‍नी बहिनीबाट सुने, तब उनी त्‍यस मानिसकहाँ गए। अनि इनारको छेउमा ऊँटहरूका नजिकै त्‍यो उभिरहेको देखेर लाबानले भने, “हे परमप्रभुका आशीर्वादी जन, भित्र आउनुहोस्‌। किन बाहिरै उभिरहनुहुन्‍छ? मैले तपाईंको निम्‍ति डेरा र ऊँटहरूका लागि ठाउँ तयार पारिराखेको छु।” तब त्‍यो मानिस लाबानसित उनको घरमा गयो, र लाबानले ऊँटहरूका भारीहरू झारेर तिनीहरूलाई पराल र दाना दिए। अनि उनले अब्राहामको नोकर र त्‍यससित हुने मानिसहरूका निम्‍ति खुट्टा धुने पानी पनि दिए। तब त्‍यसको सामु खानेकुरा पनि राखिदिए। तर त्‍यसले भन्‍यो, “जबसम्‍म मेरो समाचार म भन्‍दिनँ तबसम्‍म म केही खान्‍नँ।” उनले भने, “ल, भन्‍नुहोस्‌।” तब त्‍यसले भन्‍यो, “म अब्राहामको एक नोकर हुँ। परमप्रभुले मेरा मालिकलाई खूबै आशिष्‌ दिनुभएको हुनाले तिनी एक ठूला मानिस भएका छन्‌। उहाँले तिनलाई बगालका बगाल भेड़ाबाख्राहरू र बथानका बथान गाई-गोरुहरू, तथा सुनचाँदी, दास-दासी, ऊँटहरू र गधाहरू दिनुभएको छ। मेरा मालिककी पत्‍नी साराले बुढ़ेसकालमा तिनको निम्‍ति एक जना छोरो जन्माइन्, र उनैलाई तिनले आफ्‍ना जे-जति छन्‌ सबै दिएका छन्‌। मेरो मालिकले मलाई यसो भनेर शपथ खान लाएका छन्, ‘तैंले मेरो छोराको लागि म अहिले बसेको देशका कनानीहरूका छोरीहरूमध्‍ये कुनै पनि विवाह गर्नलाई नल्‍याउनू, तर मेरो कुटुम्‍बकहाँ र मेरो पिताको घरमा गएर तैंले मेरो छोराको निम्‍ति एउटी पत्‍नी खोजेर ल्‍याइदिनू।’ “मैले मेरो मालिकलाई भनें, कथङ्कदाचित्‌ त्‍यो स्‍त्री मेरो साथमा आउन मानिन भने नि त?” तिनले मलाई भने, ‘जुन परमप्रभुको सामुन्‍ने म हिँड्‌डुल गर्छु, उहाँले नै आफ्‍ना दूत तँसित पठाउनुहुनेछ, र तेरो कार्य सफल हुनेछ, र तैंले मेरो कुटुम्‍ब र मेरा पिताको घरबाट मेरो छोराको लागि एउटी पत्‍नी ल्‍याउनेछस्‌। जब तँ मेरो कुटुम्‍बकहाँ पुग्‍नेछस्‌ तब मेरो यस शपथबाट छुट्‌नेछस्‌। अनि तिनीहरूले केटी दिएनन्‌ भने पनि मेरो यस शपथबाट तँ छुट्‌नेछस्‌।’ आज इनारमा आइपुगेर मैले यसो भनें, हे परमप्रभु, मेरा मालिक अब्राहामका परमेश्‍वर, तपाईंको इच्‍छा भए तपाईंले मेरो कार्य सफल गराइदिनुहोस्‌। हेर्नुहोस्, म इनारमा उभिरहेछु। जुन स्‍त्री पानी भर्नलाई आउलिन्‌ र मैले “तिम्रो गाग्रोबाट मलाई अलिकता पानी पिउन देऊ,” भन्‍दा तिनले मलाई “खानुहोस्, र म तपाईंका ऊँटहरूलाई पनि पानी उघाइदिनेछु,” भन्‍नेछिन्, त्‍यही स्‍त्रीचाहिँ मेरा मालिकका छोराको लागि परमप्रभुले ठहराउनुभएको होस्‌। “मैले यी कुरा मनमनै भनिसक्‍न अगि नै, हेर्नुहोस्, रिबेका काँधमा आफ्‍नो गाग्रो बोकेर आइन्, र इनारमा ओर्लेर पानी उघाइन्‌। मैले तिनलाई भनें, ‘कृपा गरी मलाई पानी पिउन देऊ।’ “तिनले तुरुन्‍तै आफ्‍नो काँधबाट गाग्रो झारेर भनिन्, ‘खानुहोस्‌। म तपाईंका ऊँटहरूका निम्‍ति पनि पानी खान दिनेछु।’ तब मैले पानी पिएँ, र तिनले मेरा ऊँटहरूलाई पनि पानी खान दिइन्‌। “मैले तिनलाई ‘तिमी कसकी छोरी हौ?’ भनी सोधें। “तिनले भनिन्, ‘नाहोर र मिल्‍काका छोरा बतूएलकी छोरी हुँ।’ “तब मैले तिनको नाकमा नत्‍थ र हातमा बालाहरू लगाइदिएँ। अनि आफ्‍नो शिर निहुराएर भक्तिसाथ परमप्रभुलाई दण्‍डवत्‌ गरें, र मेरा मालिक अब्राहामका परमप्रभु परमेश्‍वरलाई धन्‍यको भनें, जसले मेरा मालिककै भाइकी नातिनी तिनका छोराको निम्‍ति दिन मलाई ठीक बाटोमा डोर्‍याउनुभएको थियो। अब तपाईंहरू मेरा मालिकसँग दया र सत्‍यको व्‍यवहार गर्नुहुन्‍छ भने मलाई भन्‍नुहोस्‌। होइन भने पनि मलाई भन्‍नुहोस्, र म दाहिने-देब्रे जता हुन्‍छ लागुँला।” तब लाबान र बतूएलले जवाफ दिए, “यो कुरा परमप्रभुबाट नै हुन आएको हो। हामी तपाईंलाई खराब अथवा असल केही भन्‍न सक्‍दैनौं। हेर्नुस्, रिबेका तपाईँको सामुन्‍ने छे। त्‍यसलाई लिएर जानुस्, र परमप्रभुले भन्‍नुभएजस्‍तै गरी तिनी तपाईंका मालिकका छोराकी पत्‍नी होस्‌।” अब्राहामको नोकरले तिनीहरूका कुरा सुनेपछि भूइँमा निहुरेर भक्तिसाथ परमप्रभुलाई दण्‍डवत्‌ गर्‍यो। तब त्‍यसले सुन र चाँदीका गहनाहरू र लुगाहरू ल्‍याएर रिबेकालाई दियो। त्‍यसले तिनका दाजु र आमालाई पनि मूल्‍यवान्‌ थोकहरू उपहारको रूपमा दियो। तब त्‍यो र त्‍यसका साथमा भएका मानिसहरूले खाए र पिए, त्‍यो रात त्‍यहीँ बिताए। बिहान उठेपछि त्‍यसले भन्‍यो, “मेरा मालिककहाँ जान अब मलाई बिदा दिनुहोस्‌।” तर रिबेकाका दाजु र आमाले भने, “कन्‍यालाई कम-से-कम दश दिन यहीँ हामीसँग रहन दिनुहोस्‌। त्‍यसपछि तिनी गए हुन्‍छ।” तर त्‍यसले तिनीहरूलाई भन्‍यो, “मलाई नअलमल्‍याउनुहोस्‌। अब परमप्रभुले मेरो यात्रा सफल गराउनुभएको छ। मलाई जान दिनुहोस्, र म मेरा मालिककहाँ जानेछु।”