उत्‍पत्ति 24:11-21

उत्‍पत्ति 24:11-21 NNRV

साँझपख स्‍त्रीहरू पानी भर्ने बेलामा सहरका बाहिरपट्टि पानीको इनारको नजिकै त्‍यसले ऊँटहरूलाई राख्‍यो। अनि त्‍यसले मनमनै प्रार्थना गर्‍यो, “हे मेरा मालिकका परमप्रभु परमेश्‍वर, कृपा गरी आज मलाई मेरो काम सफल गराइदिनुहोस्‌ र मेरा मालिक अब्राहामलाई आफ्‍नो दया देखाउनुहोस्‌। हेर्नुहोस्, म यो इनारनेर उभिरहेको छु, र सहरका मानिसहरूका छोरीहरू पानी भर्नलाई आउँदैछन्‌। यसैले यसो होस्‌: जुन कन्‍यालाई म ‘तिम्रो गाग्रो मतिर पानी पिउनलाई ढल्‍काइदेऊ’ भनुँला, र जसले मलाई ‘खानुहोस्, म तपाईंका ऊँटहरूलाई पनि खुवाइदिन्‍छु’ भन्‍छिन्, तिनलाई नै तपाईंले आफ्‍ना दास इसहाकको निम्‍ति रोज्‍नुभएको होस्‌। तपाईंले मेरा मालिकलाई दया देखाउनुभएको रहेछ भन्‍ने म त्‍यसैबाट थाहा पाउनेछु।” त्‍यसले यो भनिसकेको पनि थिएन, अब्राहामका भाइ नाहोरकी पत्‍नी मिल्‍काको छोरो बतूएलकी छोरी रिबेका काँधमा गाग्रो राखेर आइन्‌। कन्‍या अत्‍यन्‍त सुन्‍दरी र कुनै मानिससित पनि सहवास नभएकी थिइन्‌। इनारमा ओर्लेर तिनले गाग्रोमा पानी भरिन्‌ र उक्‍लेर आइन्‌। तब त्‍यो नोकर तिनलाई भेट गर्न दगुर्‍यो र भन्‍यो, “कृपा गरी तिम्रो गाग्रोबाट मलाई अलिकता पानी पिउन देऊ।” तिनले “हजूर, खानुहोस्‌” भनेर तुरुन्‍तै गाग्रो झारिन्, र आफ्‍नो हातमा गाग्रो राखेर त्‍यसलाई पानी खुवाइदिइन्‌। त्‍यसलाई खान दिइसकेपछि तिनले भनिन्, “तपाईंका ऊँटहरूका निम्‍ति पनि तिनीहरूले पिई नसकुञ्‍जेल म पानी उघाएर दिनेछु।” तब तिनले झट्टै आफ्‍नो गाग्रोको पानी डूँड़मा खन्‍याएर फेरि पानी उघाउन इनारतिर कुदेर गइन्, र तिनले सबै ऊँटहरूका निम्‍ति पनि पानी उघाइदिइन्‌। त्‍यो मानिसचाहिँ परमप्रभुले आफ्‍नो यात्रा सफल गरिदिनुभएको हो कि होइन भनी थाहा पाउनलाई चूप लागी डिठ लाएर तिनलाई हेरिरह्यो।