उत्‍पत्ति 24:1-10

उत्‍पत्ति 24:1-10 NNRV

अब्राहाम दिन धेरै खाएर बूढ़ा भइसकेका थिए। परमप्रभुले सबै कुरामा अब्राहामलाई आशिष्‌ दिनुभएको थियो। अब्राहामले आफ्‍नो घरका सबै कुरामा अख्‍तियार गर्ने प्रमुख नोकरलाई भने, “तेरो हात मेरो तिघ्रामुनि राख्‌। म तँलाई स्‍वर्ग र पृथ्‍वीका परमप्रभु परमेश्‍वरको यो शपथ खान लाउँछु कि तैंले मेरो छोरालाई अहिले म बसेको ठाउँका कनानीका छोरीहरूमध्‍ये कसैलाई विवाह गर्न नल्‍याइदिनू, तर मेरो देशमा मेरै कुटुम्‍बकहाँ गएर मेरो छोरा इसहाकको लागि एउटी पत्‍नी ल्‍याउनू।” तब त्‍यस नोकरले अब्राहामलाई भने, “यदि त्‍यो स्‍त्री यस देशमा मेरो पछि लागेर आउन इच्‍छा गरिन भनेता के मैले तपाईंका छोरालाई जुन देशबाट तपाईं आउनुभयो त्‍यहीँ नै लैजाने?” अब्राहामले त्‍यसलाई भने, “तैंले मेरो छोरालाई त्‍यहाँ फर्काएर नलानू। मलाई मेरा पिताको घर र मेरो जन्‍मभूमिबाट यहाँ ल्‍याउनुहुने स्‍वर्ग र पृथ्‍वीका परमप्रभु परमेश्‍वरले शपथ खाई मसँग यसो भनेर प्रतिज्ञा गर्नुभएको छ, ‘म तेरै सन्‍तानलाई यो देश दिनेछु।’ उहाँले नै आफ्‍ना दूत तेरो अगिअगि पठाउनुहुनेछ, र तैंले मेरो छोराको लागि त्‍यहाँबाट एउटी पत्‍नी ल्‍याउन सक। त्‍यो केटी तेरो पछि आउन इच्‍छा गरिन भने तँलाई मेरो यो शपथ लाग्‍नेछैन। केवल तैंले मेरो छोरालाई चाहिँ त्‍यहाँ फर्काएर नलैजानू।” तब त्‍यस नोकरले आफ्‍ना मालिक अब्राहामको तिघ्रामुनि हात राखीकन यस विषयमा तिनीसित शपथ खायो। त्‍यसपछि त्‍यो नोकर आफ्‍ना मालिकका दश वटा ऊँट र सबै किसिमका असल-असल सौगात लिएर बिदा भयो, र अराम-नाहारैमतिर लागेर नाहोरको सहरमा गयो।