उत्‍पत्ति 21:22-34

उत्‍पत्ति 21:22-34 NNRV

त्‍यस बेला अबीमेलेक र उनका सेनापति पीकोलले अब्राहामलाई भने, “तपाईंले गर्नुभएका सबै काममा परमेश्‍वर तपाईंसँग हुनुहुन्‍छ। यसकारण यहाँ मसित परमेश्‍वरको सामु शपथ खानुहोस्, कि तपाईं मसँग वा मेरा छोराछोरीसँग अथवा मेरा नाति-पनातिसँग छलकपटको व्‍यवहार गर्नुहुनेछैन। तर मैले तपाईंसँग गरेको कृपाअनुसार नै मसँग र तपाईं परदेशी भएर बस्‍नुभएको देशसँग व्‍यवहार गर्नुहोला।” अब्राहामले भने, “हुन्‍छ, म शपथ खान्छु।” तब अब्राहामले अबीमेलेकका दासहरूले जबरदस्‍तसित खोसेर लिएको इनारको विषयमा अबीमेलेकलाई सुनाए। तर अबीमेलेकले भने, “यस्‍तो काम कसले गर्‍यो सो मलाई थाहा छैन। तपाईंले मलाई भन्‍नुभएन। आज मात्र मैले यो कुरा सुनें।” त्‍यसकारण अब्राहामले भेड़ा र गाई-गोरुहरू ल्‍याएर अबीमेलेकलाई दिए, र ती दुवै जनाले करार बाँधे। अब्राहामले बगालबाट भेड़ाका सात वटा पाठी छुट्ट्याएर राखे। अबीमेलेकले अब्राहामलाई सोधे, “तपाईंले यी सात पाठी छुट्ट्याएर राखेको अर्थ के हो?” अब्राहामले भने, “यो इनार मैले खनेको हो भन्‍ने गवाहीको निम्‍ति यी सात वटा पाठी मेरो हातबाट तपाईं लिनुहोस्‌।” यसैकारण त्‍यस ठाउँको नाउँ बेर्शेबा राखियो, किनकि त्‍यहाँ ती दुवैले आपसमा शपथ खाएका थिए। यसरी तिनीहरूले बेर्शेबामा आपसमा करार बाँधे। तब अबीमेलेक र उनका सेनापति पीकोल पलिश्‍तीहरूको देशमा फर्के। अब्राहामले बेर्शेबामा एउटा झ्‍याउको बोट रोपे, र त्‍यहाँ अनन्‍तका परमेश्‍वरको नाउँको पुकारा गरे। त्‍यसपछि अब्राहाम पलिश्‍तीहरूको देशमा धेरै दिनसम्‍म बसोबास गरे।