उत्‍पत्ति 21:1-21

उत्‍पत्ति 21:1-21 NNRV

आफूले भन्‍नुभएअनुसार सारालाई परमप्रभुले कृपा देखाउनुभयो, र आफ्‍नो प्रतिज्ञाबमोजिम गर्नुभयो। सारा गर्भवती भइन्, र अब्राहामको वृद्धावस्‍थामा, परमेश्‍वरले अब्राहामलाई भन्‍नुभएको समयमा तिनले एक जना छोरा जन्‍माइन्‌। साराले तिनीबाट जन्‍माएको आफ्‍नो छोराको नाउँ अब्राहामले इसहाक राखे। अब्राहामको आफ्‍नै छोरा इसहाक आठ दिनको हुँदा तिनले परमेश्‍वरको आज्ञाअनुसार त्‍यसको खतना गरे। तिनको छोरा इसहाक जन्‍मँदा अब्राहाम एक सय वर्ष पुगेका थिए। साराले भनिन्, “परमेश्‍वरले मलाई एउटा हाँस्‍ने कारण दिनुभयो। यो सुन्‍ने जति सबै मसँगै हाँस्‍नेछन्‌।” तिनले फेरि भनिन्, “साराले बालकलाई दूध खुवाउँछे भनेर कसले अब्राहामलाई भन्‍नेथियो? तापनि तिनको बुढ़ेसकालमा मैले तिनीबाट एक जना छोरा जन्‍माएँ।” बालक बढ्‌दैगयो, र त्‍यसले दूध खान छोड़्यो। र इसहाकले दूध खान छोड़ेको दिन अब्राहामले एउटा ठूलो भोज दिए। तर मिश्री हागारले अब्राहामबाट जन्‍माएको छोरालाई ठट्टा गरिरहेको साराले देखिन्‌। यसैकारण तिनले अब्राहामलाई भनिन्, “यस कमारीलाई त्‍यसको छोरासँगै निकालिदिनुहोस्, किनकि यस कमारीको छोरो मेरा छोरा इसहाकसँग उत्तराधिकारी हुन पाउनेछैन।” आफ्‍नै छोरो भएकोले यो कुरा अब्राहामलाई साह्रै नराम्रो लाग्‍यो। तर परमेश्‍वरले अब्राहामलाई भन्‍नुभयो, “त्‍यो बालक र तेरी कमारीको निम्‍ति तैंले चिन्‍ता नगरी साराले तँलाई जसो भन्‍छे सोहीबमोजिम गर्, किनकि इसहाकबाट नै तेरो वंशको नाउँ रहनेछ। म त्‍यस कमारीको छोराबाट पनि एक जाति खड़ा गर्नेछु, किनभने त्‍यो पनि तेरै सन्‍तान हो।” अब्राहामले बिहानै उठेर रोटी र पानीको एउटा मशक हागारको काँधमा राखिदिए, र बालकलाई पनि त्‍यसकै साथ लगाएर बिदा गरिदिए। अनि हागार बेर्शेबाको उजाड़-स्‍थान हुँदो डुल्‍न लागी। जब मशकको पानी सिद्धियो तब तिनले बालकलाई एउटा पोथ्रोमुनि छोड़ेर आफैचाहिँ उतापट्टि एक काँड़ले पार गर्ने दूरीमा बसी, किनकि “मैले यो बालक मरेको हेर्नु नपरोस्‌” भनी त्‍यसले मनमा सोची। अनि हागार त्‍यहाँ बसेर डाँको छोड़ी-छोड़ी रुन लागी। परमेश्‍वरले बालकको सोर सुन्‍नुभयो। अनि परमेश्‍वरका दूतले स्‍वर्गबाट हागारलाई हपारेर भने, “ए हागार, तँलाई के दु:ख पर्‍यो? नडरा, किनभने बालक भएको ठाउँबाट त्‍यसको सोर परमेश्‍वरले सुन्‍नुभएको छ। उठ्, गएर बालकलाई उठा, र त्‍यसको हात बलियो गरी पक्री नै राख्, किनभने म त्‍यसबाट एउटा ठूलो जाति खड़ा गर्नेछु।” तब परमेश्‍वरले तिनका आँखा खोलिदिनुभयो, र तिनले एउटा पानीको कूवा देखी, र गएर मशकमा पानी भरेर बालकलाई पिउन दिई। परमेश्‍वर त्‍यस बालकको साथ रहनुभयो। त्‍यो बढ्‌दैगयो, र उजाड़-स्‍थानमा बसेर एक धनुर्धारी बन्‍यो। त्‍यो पारानको मरुभूमिमा बस्‍थ्‍यो, र त्‍यसकी आमाले त्‍यसको लागि मिश्रबाट एउटी पत्‍नी ल्‍याइदिई।