फेरि परमेश्वरले अब्राहामलाई भन्नुभयो, “तेरी पत्नी साराईलाई चाहिँ अबदेखि साराई नाउँले नबोलाउनू, तर त्यसको नाउँ सारा हुनेछ। म त्यसलाई आशिष् दिनेछु, र निश्चय नै त्यसबाट म तँलाई एक जना छोरो दिनेछु। म त्यसलाई आशिष् दिनेछु, र त्यो धेरै जातिहरूकी आमा हुनेछे। जाति-जातिहरूका राजाहरू त्यसबाट उत्पन्न हुनेछन्।” तब अब्राहाम घोप्टो परी मनमनै हाँसेर भने, “के सय वर्ष पुगिसकेकोलाई सन्तान होला? नब्बे वर्ष पुगेकी साराले बालक जन्माउलिन् र?” अनि अब्राहामले परमेश्वरलाई भने, “इश्माएल नै तपाईंको आशिष्मा बाँचिरहे त हुन्छ।” तब परमेश्वरले भन्नुभयो, “हो, तर तेरी पत्नी साराले नै तेरो लागि एक जना छोरा जन्माउनेछे, र तैंले त्यसको नाउँ इसहाक राख्नेछस्। म त्यससित र त्यसपछि हुने त्यसका सन्तानसित आफ्नो करार स्थापित गर्नेछु। अनि इश्माएलको विषयमा चाहिँ मैले तेरो बिन्ती सुनें। हेर्, म त्यसलाई आशिष् दिनेछु, र म त्यसलाई फल्दो-फुल्दो तुल्याएर प्रशस्त गरी त्यसको वृद्धि गर्नेछु। बाह्र शासकको त्यो पिता हुनेछ, र म त्यसबाट एउटा ठूलो जाति उत्पन्न गराउनेछु। तर मेरो करार त म इसहाकसँगै स्थापित गर्नेछु, जसलाई साराले आउँदो साल यही समयमा तँबाट जन्माउनेछे।” तिनीसित कुरा गरिसक्नुभएपछि परमेश्वर अब्राहामकहाँबाट जानुभयो। अब्राहामले आफ्नो छोरो इश्माएल र आफ्नो घरमा जन्मेका र दाम हालेर किनेका आफ्ना सबै कमारा, आफ्नो घरका पुरुष सबैलाई लिएर तिनलाई परमेश्वरले भन्नुभएबमोजिम त्यसै दिन तिनीहरूका खलड़ीको खतना गरे। आफ्नो खलड़ीको खतना गर्दा अब्राहाम उनान्सय वर्ष पुगेका थिए, र तिनको छोरो इश्माएलचाहिँ आफ्नो खलड़ीको खतना गर्दा तेह्र वर्षका थिए। अब्राहाम र तिनको छोरो इश्माएलको खतना एकै दिनमा भएको थियो। तिनको घरमा जन्मेका र विदेशीहरूबाट दाम हालेर किनेका सबै पुरुषहरूको खतना तिनको खतनासँगसँगै भयो।
उत्पत्ति 17 पढ्नुहोस्
सुन्नुहोस् उत्पत्ति 17
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 17:15-27
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू