उत्‍पत्ति 11:27-32

उत्‍पत्ति 11:27-32 NNRV

तेरहको वृत्तान्‍त यही हो। तेरह अब्राम, नाहोर र हारानका पिता भए। अनि हारान लोतका पिता भए। हारान उनका बुबा तेरहकै जीवनकालमा आफ्‍नो जन्‍म देश कल्‍दीहरूको ऊरमा मरे। अब्राम र नाहोरले विवाह गरेर पत्‍नी ल्‍याए। अब्रामकी पत्‍नीको नाउँ साराई र नाहोरकी पत्‍नीको नाउँ मिल्‍का थियो। तिनी हारानकी छोरी थिइन्‌। हारानचाहिँ मिल्‍का र यिस्‍काका पिता थिए। साराई बाँझी थिइन्, र तिनका कोही छोराछोरी थिएनन्‌। तेरहले आफ्‍ना छोरा अब्राम र हारानको छोरो आफ्‍नो नाति लोत र अब्रामकी पत्‍नी आफ्‍नी बुहारी साराईलाई साथमा लिएर कल्‍दीहरूको ऊरबाट कनान देशमा जान तिनीहरूसँगै निस्‍के। तर तिनीहरू हारानमा पुगेपछि त्‍यहीँ नै बसोबास गरे। तेरहको उमेर दुई सय पाँच वर्ष पुगेपछि उनी हारानमा मरे।