उत्‍पत्ति 11:10-32

उत्‍पत्ति 11:10-32 NNRV

शेमको वृत्तान्‍त यही हो। जलप्रलयको दुई वर्षपछि एक सय वर्षको उमेरमा शेम अर्पक्षदको पिता भए। अर्पक्षद जन्‍मेपछि शेम पाँच सय वर्षसम्‍म बाँचे, र उनका अरू छोराछोरीहरू जन्‍मे। अर्पक्षदको उमेर पैँतीस वर्षको हुँदा उनी शेलहका पिता भए। शेलह जन्‍मेपछि अर्पक्षद चार सय तीन वर्षसम्‍म बाँचे, र उनका अरू छोराछोरीहरू जन्‍मे। शेलहको उमेर तीस वर्षको हुँदा उनी एबेरका पिता भए। एबेर जन्‍मेपछि शेलह चार सय तीन वर्षसम्‍म बाँचे, र उनका अरू छोराछोरीहरू जन्‍मे। एबेरको उमेर चौतीस वर्षको हुँदा उनी पेलेगका पिता भए। पेलेग जन्‍मेपछि एबेर चार सय तीस वर्षसम्‍म बाँचे, र उनका अरू छोराछोरीहरू जन्‍मे। पेलेगको उमेर तीस वर्षको हुँदा उनी रऊका पिता भए। रऊ जन्‍मेपछि पेलेग दुई सय नौ वर्षसम्‍म बाँचे, र उनका अरू छोराछोरीहरू जन्‍मे। रऊको उमेर बत्तीस वर्षको हुँदा उनी सरूगका पिता भए। सरूग जन्‍मेपछि रऊ दुई सय सात वर्षसम्‍म बाँचे, र उनका अरू छोराछोरीहरू जन्‍मे। सरूगको उमेर तीस वर्षको हुँदा उनी नाहोरका पिता भए। नाहोर जन्‍मेपछि सरूग दुई सय वर्षसम्‍म बाँचे, र उनका अरू छोराछोरीहरू जन्‍मे। नाहोरको उमेर उनन्‍तीस वर्षको हुँदा उनी तेरहका पिता भए। तेरह जन्‍मेपछि नाहोर एक सय उन्‍नाईस वर्षसम्‍म बाँचे, र उनका अरू छोराछोरीहरू जन्‍मे। तेरहको उमेर सत्तरी वर्षको हुँदा उनी अब्राम, नाहोर र हारानका पिता भए। तेरहको वृत्तान्‍त यही हो। तेरह अब्राम, नाहोर र हारानका पिता भए। अनि हारान लोतका पिता भए। हारान उनका बुबा तेरहकै जीवनकालमा आफ्‍नो जन्‍म देश कल्‍दीहरूको ऊरमा मरे। अब्राम र नाहोरले विवाह गरेर पत्‍नी ल्‍याए। अब्रामकी पत्‍नीको नाउँ साराई र नाहोरकी पत्‍नीको नाउँ मिल्‍का थियो। तिनी हारानकी छोरी थिइन्‌। हारानचाहिँ मिल्‍का र यिस्‍काका पिता थिए। साराई बाँझी थिइन्, र तिनका कोही छोराछोरी थिएनन्‌। तेरहले आफ्‍ना छोरा अब्राम र हारानको छोरो आफ्‍नो नाति लोत र अब्रामकी पत्‍नी आफ्‍नी बुहारी साराईलाई साथमा लिएर कल्‍दीहरूको ऊरबाट कनान देशमा जान तिनीहरूसँगै निस्‍के। तर तिनीहरू हारानमा पुगेपछि त्‍यहीँ नै बसोबास गरे। तेरहको उमेर दुई सय पाँच वर्ष पुगेपछि उनी हारानमा मरे।