उत्‍पत्ति 1:9-18

उत्‍पत्ति 1:9-18 NNRV

अनि परमेश्‍वरले भन्‍नुभयो, “आकाशमुनि भएको पानी एक ठाउँमा जम्‍मा होस्‌ र ओबानो भूमि देखा परोस्‌।” तब त्‍यस्‍तै भइहाल्‍यो। परमेश्‍वरले ओबानो भूमिलाई “पृथ्‍वी” भन्‍नुभयो, र जम्‍मा भएको पानीलाई “समुद्र” भन्‍नुभयो। अनि परमेश्‍वरले हेर्नुभयो, त्‍यो असल थियो। अनि परमेश्‍वरले भन्‍नुभयो, “भूमिले वनस्‍पति, बीउ हुने बोट-बिरुवाहरू र आ-आफ्‍नो किसिमको बीउ हुने फल फल्‍ने वृक्षहरू पृथ्‍वीमा उमारोस्‌।” तब त्‍यस्‍तै भइहाल्‍यो। भूमिले वनस्‍पति, बीउ हुने बोटहरू र आ-आफ्‍नो किसिमको बीउ हुने फल फल्‍ने वृक्षहरू उमार्‍यो। अनि परमेश्‍वरले हेर्नुभयो, त्‍यो असल थियो। साँझ पर्‍यो र बिहान भयो— तेस्रो दिन। अनि परमेश्‍वरले भन्‍नुभयो, “अन्‍तरिक्षमा दिन र रात छुट्ट्याउनलाई ज्‍योतिहरू होऊन्‌। तिनीहरू ऋतुहरू, दिनहरू र वर्षहरू छुट्ट्याउन चिन्‍हको रूपमा काम गरून्‌। र पृथ्‍वीमा प्रकाश दिनलाई अन्‍तरिक्षमा ती ज्‍योतिहरू होऊन्‌।” तब त्‍यस्‍तै भइहाल्‍यो। अनि परमेश्‍वरले दुई विशाल ज्‍योतिहरू बनाउनुभयो— ठूलो ज्‍योति दिनमाथि प्रभुत्‍व गर्न, र सानो ज्‍योति रातमाथि प्रभुत्‍व गर्न। उहाँले ताराहरू पनि बनाउनुभयो। अनि परमेश्‍वरले पृथ्‍वीमा प्रकाश दिनलाई, दिन र रातमाथि प्रभुत्‍व गर्न अनि उज्‍यालो र अँध्‍यारोलाई अलग-अलग गर्नलाई ती आकाशमा राख्‍नुभयो। अनि परमेश्‍वरले हेर्नुभयो, त्‍यो असल थियो।