“अब हे मानिसको छोरो, एउटा लाग्ने तरवार ली, र त्यो हजामको छुराजस्तै प्रयोग गरेर त्यसले आफ्नो कपाल र दाह्री खौरी। त्यसपछि जोख्नलाई तराजू ली, र ती कपाललाई भाग-भाग गर्। जब तेरो घेराका दिन समाप्त हुन्छन्, रौंको एक तिहाइलाई सहरभित्र आगोमा जलाइदे। अर्को एक तिहाइलाई चाहिँ सहरका चारैतिर तरवारले टुक्रा-टुक्रा पारिदे, र बाँकी एक तिहाइचाहिँ हावामा उड़ाइदे। किनकि तिनीहरूलाई म तरवारले खेद्नेछु। तर तैंले कपालको केही भाग लिएर आफ्नो लुगामा बाँधेर राख्। फेरि तीबाट पनि केही लिएर आगोमा जलाइदे। तीबाट इस्राएलका सबै घरानामा एउटा आगो फैलिनेछ। “परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: यरूशलेम यही हो, जसलाई मैले जाति-जातिहरूको केन्द्रमा बसालेको छु, जसका चारैतिर देशहरू छन्। तापनि आफ्नो दुष्ट्याइँमा त्यसका चारैतिर भएका जाति-जाति र देशहरूभन्दा त्यो अझ बढ़ी मेरा नियमहरू र विधिहरूका विरुद्धमा बागी भएकी छ। त्यसले मेरा नियमहरूलाई इन्कार गरेकी छ, र मेरा विधिहरूमा हिँड़ेकी छैन। “यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: आफ्ना चारैतिरका जाति-जातिहरूभन्दा तिमीहरू अझ बढ़ी नियम पालन नगर्ने भएका छौ, र मेरा विधिहरूमा चलेका छैनौ, अथवा मेरा नियमहरू पालन गरेका छैनौ। तिमीहरूका चारैतिर भएका जातिहरूका चालबमोजिम पनि तिमीहरू चलेका छैनौ। “यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: हे यरूशलेम, म नै तेरो विरुद्धमा भएको छु। म स्वयम् ती जातिहरूका सामुन्ने तँलाई दण्ड दिनेछु। म तेरा घिनलाग्दा देवताहरूको कारण तँलाई म यस्तो गर्नेछु, जो मैले अघि कहिल्यै गरेको थिइनँ र न फेरि कहिल्यै गर्नेछु। यसकारण तँभित्रै बुबाहरूले छोराछोरीहरूलाई र छोराछोरीहरूले बुबाहरूलाई खानेछन्। म तँमाथि दण्ड ल्याउनेछु र तेरा बाँचेकाहरू सबैलाई बतासमा तितरबितर पारिदिनेछु। जस्तो म जीवित छु, परमप्रभु परमेश्वर भन्नुहुन्छ, तेरा सबै घिनलाग्दा मूर्तिहरू र तैंले गरेका घृणित व्यवहारबाट मेरो पवित्रस्थानलाई तैंले बिटुलो पारेको कारण म तँबाट मेरो निगाह हटाउनेछु। मेरो नजरले तँलाई टिठ्याउनेछैन, न त म तँमाथि दया देखाउनेछु। तँभित्रै तेरा मानिसहरूको एक तिहाइ रूढ़ीले वा अनिकालले नष्ट हुनेछन्, र एक तिहाइचाहिँ तेरा पर्खालहरूको बाहिर तरवारले मर्नेछन्, र एक तिहाइचाहिँ चारैतिर तितरबितर म पार्नेछु। र नाङ्गो तरवारले म तिनीहरूलाई खेद्नेछु। “तब मेरो रीस थामिनेछ र तिनीहरूका विरुद्धमा भएको मेरो क्रोध शान्त हुनेछ। म यसरी मेरो बदला लिनेछु। मेरो क्रोध तिनीहरूमाथि खन्याइसकेपछि तिनीहरूले जान्नेछन् कि म परमप्रभुले नै आफ्नो जोशमा यो कुरा भनेको हुँ। “म तँलाई तेरा चारैतिरका जाति-जातिहरूका बीचमा र तेरो छेउबाट भएर जानेहरू सबैका दृष्टिमा भग्नावशेष र खिसीको पात्र तुल्याउनेछु। जब म रीस, क्रोध र गालीसित वा खिसीमा तँलाई सजाय दिन्छु, तब तँ तेरा चारैतिर हुने जाति-जातिहरूमा तँ गाली, खिसी, चेताउनी र डरलाग्दो पात्र हुनेछस्। म परमप्रभुले नै यो भनेको हुँ जब म तँमाथि अनिकालको मेरा घातक र नष्टकारी बाणहरू छोड्नेछु, तब म तँलाई नाश नगरी छोड्नेछैनँ। म तँमाथि झन् बढ़ी अनिकाल ल्याउनेछु र तेरो अन्नको मूल नै रोकिदिनेछु। म तेरो विरुद्धमा अनिकाल र जङ्गली जनावरहरू पठाइदिनेछु, र तिनीहरूले तँलाई निर्वंश तुल्याउनेछन्। रूढ़ी र रक्तपात तेरो बीचमा भइरहनेछन्, म तँमाथि तरवार चलाउनेछु। म परमप्रभुले नै यो भनेको हुँ।”
इजकिएल 5 पढ्नुहोस्
सुन्नुहोस् इजकिएल 5
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: इजकिएल 5:1-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू