इजकिएल 42:1-20

इजकिएल 42:1-20 NNRV

तब ती मानिसले मलाई उत्तरतर्फबाट घुमाएर बाहिरी चोकमा लगे, अनि मन्‍दिरको चोक र मन्‍दिरका उत्तरतिरको बाहिरी भित्ताको विपरीत भएका कोठाहरूमा तिनले मलाई ल्‍याए। उत्तरतिर फर्केको ढोका भएको भवन एक सय हात लामो र पचास हात चौड़ा थियो। भित्री चोकदेखि बीस हातको भाग र बाहिरी चोकको ढुङ्गा ओछ्याएको पिँड़ीको विपरीत रहेको भाग दुवैमा एक-अर्कोतिर फर्केका बार्दलीहरू तीन तहमा थिए। कोठाहरूका सामुन्‍ने दश हात चौड़ा र एक सय हात लामो एउटा भित्री बाटो थियो। तिनका ढोकाहरू उत्तरतिर फर्केका थिए। माथिल्‍ला कोठाहरूचाहिँ बार्दलीहरूले तीबाट बढ्‌ता ठाउँ ओगटेका हुनाले, तल्‍लो र बीचको तलाका कोठाहरूभन्‍दा साँघुरा थिए। चोकहरूका जस्‍तै तेस्रो तलाका कोठाहरूका खम्‍बाहरू थिएनन्‌। यसैले तल्‍लो र बीचको तलाका कोठाहरूभन्‍दा ती माथिल्‍ला कोठाहरू साना थिए। कोठाहरू र बाहिरी चोकको समानान्‍तर एउटा बाहिरी पर्खाल थियो, जो कोठाहरूका सामुन्‍ने पचास हात बढ़ेको थियो। बाहिरी चोकको छेउका कोठाहरूको लहर पचास हात लामो थियो, पवित्रस्‍थानका नजिकैको लहरचाहिँ एक सय हात लामो थियो। तल्‍ला कोठाहरूमा बाहिरी चोकदेखि भित्र पस्‍ने पूर्वतिरका प्रवेशद्वारहरू थिए। दक्षिणतिर बाहिरी चोकको पर्खालभरि, मन्‍दिरको चोकको छेउमा र बाहिरी भित्ताको विपरीत भएका कोठाहरू थिए। तिनका सामुन्‍ने एउटा जाने बाटो थियो। यी कोठाहरू उत्तरका जस्‍तै थिए— तिनका बाहिर जाने ढोकाहरू सबै किसिमका, र तिनका लमाइ र चौड़ाइ उस्‍तै नापका थिए। उत्तरका ढोकाहरूजस्‍तै, दक्षिणका कोठाहरूका ढोकाहरू त्‍यस्‍तै थिए। कोठाहरू भित्र पस्‍ने एउटा अर्को प्रवेशद्वार थियो। यो प्रवेशद्वार पूर्वतिर जाने पर्खालको समानान्‍तर गएको बाटोको सुरुमा पर्थ्‍यो। तब तिनले मलाई भने, “मन्‍दिरको चोकतिर फर्केका उत्तर र दक्षिणका कोठाहरूचाहिँ पूजाहारीका कोठाहरू हुन्, जहाँ मानिसहरूले चढ़ाएका सबैभन्‍दा पवित्र भेटीहरू परमप्रभुको सामुन्‍ने आउने पूजाहारीहरूले खाने गर्नेछन्‌। त्‍यहाँ तिनीहरूले सबैभन्‍दा पवित्र भेटीहरू— अन्‍नबलि, पापबलि र दोषबलि— राख्‍नेछन्, किनकि त्‍यो ठाउँ पवित्र छ। जब पूजाहारीहरू पवित्रस्‍थानमा पसेका हुन्‍छन्, तब सेवाको काम गर्दा आफूले लाएका वस्‍त्र त्‍यहाँ नफुकाली फेरि बाहिरी चोकमा जानुहुँदैन, किनकि ती पवित्र वस्‍त्र हुन्‌। मानिसहरूलाई बस्‍न तोकिएको ठाउँमा तिनीहरू जानुभन्‍दा पहिले तिनीहरूले अर्कै लुगा लाउनुपर्छ।” जब तिनले मन्‍दिरभित्रको क्षेत्र नापिसके, तब तिनले मलाई पूर्वको मूल ढोकाबाट बाहिर ल्‍याए। अनि त्‍यहाँका चारैतिरको क्षेत्र नापे। तिनले त्‍यस नाप्‍ने टाँगोले पूर्व भागलाई नापे। त्‍यो पाँच सय हात थियो। तिनले उत्तरको भाग नापे। नाप्‍ने टाँगोअनुसार त्‍यो पनि पाँच सय हात थियो। तिनले दक्षिणको भाग नापे। टाँगोअनुसार त्‍यो पनि पाँच सय हात थियो। तब तिनले पश्‍चिमतिर फर्केर त्‍यो भाग नापे। टाँगोअनुसार त्‍यो पनि पाँच सय हात थियो। यसरी तिनले चारै भागको क्षेत्र नापे। पवित्र ठाउँलाई साधारण ठाउँदेखि अलग गर्नलाई चारैतिर एउटा पर्खाल थियो। त्‍यो पाँच सय हात लामो र पाँच सय हात चौड़ा थियो।