इजकिएल 25:1-17

इजकिएल 25:1-17 NNRV

परमप्रभुको यो वचन मकहाँ आयो: “हे मानिसको छोरो, अम्‍मोनीहरूतिर मुख फर्का, र तिनीहरूका विरुद्धमा अगमवाणी भन्‌। तिनीहरूलाई भन्, ‘परमप्रभु परमेश्‍वरको वचन सुन्‌। परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: मेरो पवित्रस्‍थान अपवित्र तुल्‍याइँदा, इस्राएलको देश उजाड़ बनाउँदा र यहूदाका मानिसहरू निर्वासनमा लगिँदा, तिमीहरूले भन्‍यौ, “अहा!” यसैकारण म तिमीहरूलाई पूर्वका मानिसहरूका अधीनमा सम्‍पत्तिझैँ सुम्‍पिदिनेछु। उनीहरूले तिमीहरूका बीचमा छाउनी हाल्‍नेछन्, र तिमीहरूकै बीचमा आफ्‍ना पालहरू गाड्‌नेछन्‌। उनीहरूले तिमीहरूका फलहरू खानेछन्‌ र तिमीहरूको दूध पिउनेछन्‌। म रब्‍बा सहरलाई ऊँटहरूको खर्क र अम्‍मोनलाई भेड़ाको गोठ तुल्‍याइदिनेछु। तब तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछौ। किनकि परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: ‘इस्राएल देशको विरुद्धमा तिमीहरूले ताली बजाएका र खुट्टा ठटाएका छौ, र तिमीहरूका हृदयभित्रको जम्‍मै ईर्ष्‍या प्रकट गर्दै तिमीहरूले हर्ष मनाएका छौ। यसैकारण म मेरो हात तिमीहरूका विरुद्धमा उठाउनेछु, र तिमीहरूलाई जाति-जातिहरूका हातमा लूटको मालझैँ सुम्‍पिदिनेछु। जाति-जातिहरूका बीचदेखि तिमीहरूको नाउँनिशानै मेटाइदिनेछु, र देश-देशदेखि तिमीहरूलाई निर्मूल पार्नेछु। म तिमीहरूलाई सर्वनाश गर्नेछु, र तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछौ’।” “परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: ‘मोआब र सेइरले यसो भनेका छन्, “हेर, यहूदाको घराना त अरू सबै जाति-जातिहरूजस्‍तै भएको छ।” यसैकारण मोआब देशको सिमानानेरका सहरहरूदेखि सुरु गरेर— बेथ-यशीमोत, बाल-मोन र किर्यातैम, जो त्‍यस देशको गौरव छन्‌— मोआबको एकापट्टिको भागलाई म खुलस्‍त पारिदिनेछु। म मोआबलाई अम्‍मोनीहरूसँग पूर्व देशका मानिसहरूको सम्‍पत्तिजस्‍तै तुल्‍याइदिनेछु, ताकि जाति-जातिहरूका बीचमा त्‍यसको सम्‍झना कहिल्‍यै नहोस्‌। म मोआबलाई दण्‍ड दिनेछु। अनि तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌’।” “परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: ‘एदोमले यहूदाको घरानासित बदला लियो, र त्‍यसो गर्दा त्‍यो साह्रै दोषी भयो। यसैकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: म मेरो हात एदोमको विरुद्धमा उठाउनेछु, र त्‍यसका मानिसहरू र पशुहरूलाई मार्नेछु। म त्‍यसलाई उजाड़ पार्नेछु, र तेमानदेखि ददानसम्‍मै तिनीहरू तरवारले ढल्‍नेछन्‌। म मेरो प्रजा इस्राएलकै हातद्वारा एदोमलाई बदला लिनेछु, र यिनीहरूले मेरो रीस र मेरो क्रोधअनुसार एदोममाथि व्‍यवहार गर्नेछन्‌। तब तिनीहरूले मेरो बदला कस्‍तो रहेछ भनी जान्‍नेछन्, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ’।” “परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: ‘पलिश्‍तीहरूले बदला लिने काम गरे, आफ्‍ना हृदयमा ईर्ष्‍या राखेर बदला लिए, र पुरानो दुश्‍मनी लिएर यहूदालाई सर्वनाश गर्न खोजे। यसैकारण परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ: म पलिश्‍तीहरूका विरुद्धमा आफ्‍नो हात उठाउन लागेको छु, र करेतीहरूलाई म खतम पार्नेछु, र समुद्र-किनारमा बस्‍ने बाँकी रहेकाहरूलाई सर्वनाश गर्नेछु। म तिनीहरूलाई मेरो क्रोधमा दण्‍ड दिँदै ठूलो बदला चुकाउनेछु। जब म तिनीहरूसित मेरो बदला लिनेछु, तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌’।”