इजकिएल 20:33-49

इजकिएल 20:33-49 NNRV

जस्‍तो म जीवित छु, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ, शक्तिशाली हात र पसारेको पाखुराद्वारा क्रोध खन्‍याउँदै म तिमीहरूमाथि राज्‍य गर्नेछु। म तिमीहरूलाई शक्तिशाली हात र पसारेको पाखुराद्वारा क्रोध खन्‍याउँदै जाति-जातिहरूका बीचबाट निकालेर ल्‍याउनेछु, र तिमीहरू छरपष्‍ट भएका देशहरूबाट म तिमीहरूलाई भेला गर्नेछु। म तिमीहरूलाई जाति-जातिहरूको मरुभूमिमा ल्‍याउनेछु, र त्‍यहाँ तिनीहरूकै सामुन्‍ने तिमीहरूको न्‍याय गर्नेछु। जसरी मिश्रदेशको मरुभूमिमा मैले तिमीहरूका पिता-पुर्खाहरूको न्‍याय गरेको थिएँ, त्‍यसरी नै तिमीहरूको न्‍याय म गर्नेछु, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ। म तिमीहरूलाई मेरो टाँगोमुनि छिर्न लाउनेछु, र एक-एक गरी गन्‍तीसित तिमीहरूलाई करारको बन्‍धनमा ल्‍याउनेछु। तिमीहरूमध्‍येका विद्रोह गर्नेहरू र मेरो विरुद्धमा अपराध गर्नेहरूलाई म अलग गर्नेछु। तिनीहरू प्रवासी भएर बसेको देशबाट म तिनीहरूलाई निकालेर ल्‍याउनेछु, तापनि तिनीहरू इस्राएलको देशमा पस्‍न पाउनेछैनन्‌। तब म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्‍नेछौ। “‘हे इस्राएलका घराना, परमप्रभु परमेश्‍वर तिमीहरूलाई यसो भन्‍नुहुन्‍छ: जाओ, तिमीहरू हरेकले आ-आफ्‍नो मूर्तिहरूलाई पुज। तर तिमीहरूले निश्‍चय नै मेरो कुरा पछि सुन्‍नेछौ, र तिमीहरूले मेरो पवित्र नाउँलाई आफ्‍ना उपहारहरू र मूर्तिहरूले फेरि कहिल्‍यै अपवित्र गर्नेछैनौ। किनकि परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ, यस देशमा इस्राएलका जम्‍मै घरानाले मेरो पवित्र पर्वत, इस्राएलको अल्‍गो पर्वतमा मेरो सेवा गर्नेछन्, र त्‍यहाँ म तिनीहरूलाई ग्रहण गर्नेछु। त्‍यहीँ नै म तिमीहरूका भेटीहरू, तिमीहरूका सबैभन्‍दा उत्तम उपहारहरू, तिमीहरूका सबै पवित्र बलिदानहरूसमेत म चाहनेछु। जब म तिमीहरूलाई जाति-जातिहरूबाट निकालेर ल्‍याउनेछु र तिमीहरू छरपष्‍ट भएका देशहरूबाट भेला गराउनेछु, तब तिमीहरूलाई बास्‍ना आउने धूपझैँ ग्रहण गर्नेछु, र जाति-जातिहरूका दृष्‍टिमा तिमीहरूका बीचमा म आफैलाई पवित्र प्रकट गर्नेछु। जब म तिमीहरूलाई इस्राएल देशमा ल्‍याउनेछु, जुन देश दिनलाई मैले मेरो हात उचालेर तिमीहरूका पिता-पुर्खाहरूसित शपथ खाएको थिएँ, तब तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछौ। तिमीहरूका जुन चालचलन र कृयाकलापद्वारा तिमीहरू बिटुलो भएका थियौ, ती तिमीहरूले त्‍यहाँ सम्‍झना गर्नेछौ, र तिमीहरूले गरेका सबै दुष्‍ट्याइँहरूका निम्‍ति तिमीहरू आफैले आफैलाई घृणा गर्नेछौ। हे इस्राएलका घराना, तिमीहरूका दुष्‍ट चाल र तिमीहरूका भ्रष्‍टाचारअनुसार होइन, तर मेरो नाउँको खातिर म जब तिमीहरूसित व्‍यवहार गर्नेछु, तब तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछौ, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ’।” परमप्रभुको यो वचन मकहाँ आयो: हे मानिसको छोरो, तेरो मोहड़ा दक्षिण दिशातिर फर्काएर दक्षिणको विरुद्धमा प्रचार गर्, र वनले भरिएको दक्षिण देशको विरुद्धमा अगमवाणी भन्‌। दक्षिण देशको वनलाई भन्‌: ‘परमप्रभुको वचन सुन्‌। परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: म तँमा आगो सल्‍काउन लागेको छु, र तेरा हरिया रूख र सुकेका रूखलाई त्‍यसले वशमा पार्नेछ। त्‍यसको दन्‍केको ज्‍वाला निभ्‍नेछैन, र त्‍यसद्वारा दक्षिणदेखि उत्तरसम्‍मै हरेकको मुख डढ्‌नेछ। म परमप्रभुले नै त्‍यो सल्‍काएको हुँ भनी हरेकले देख्‍नेछ। त्‍यो निभ्‍नेछैन’।” तब मैले भने, “हे परमप्रभु परमेश्‍वर, तिनीहरूले त मलाई यसो भन्‍नेछन्, ‘त्‍यसले त उखानहरूमात्र भनिरहेको छ होइन र’?”