“इस्राएलका राजकुमारहरूका निम्ति यो विलाप गर्, र भन्: “‘तेरी आमा सिंहहरूका बीचमा कस्ती सिंहिनी थिई! त्यो आफ्ना डमरुहरूलाई हुर्काउँदै जवान सिंहका बीचमा ढल्केर बस्थी। ती डमरुहरूमध्ये एउटालाई त्यसले हुर्काएर बढ़ाई, र त्यो एउटा बलियो सिंह भयो। त्यसले शिकारलाई फहराउन सिक्यो र मानिसहरूलाई खान लाग्यो। जाति-जातिहरूले त्यसको विषयमा सुने, र तिनीहरूले खाड़ल खने, र त्यो त्यसमा पर्यो। तिनीहरूले त्यसलाई अङ्कुसेले समातेर त्यसलाई मिश्रदेशमा लगे। “‘जब त्यसले आफ्नो आशा पूरा नभएको, र आफ्नो अपेक्षा खतम भएको देखी, तब त्यसले आफ्ना डमरुहरूमध्ये अर्को एउटालाई लिई, र त्यसलाई एउटा बलियो सिंह बनाई। त्यो, सिंहहरूमध्ये यताउता हिँड्डुल गर्न लाग्यो, किनकि अब त्यो एउटा बलियो जवान सिंह भएको थियो। त्यसले शिकारलाई फहराउन सिक्यो, र मानिसहरूलाई खान लाग्यो। त्यसले तिनीहरूका किल्लाहरू भत्काइदियो, र तिनीहरूका सहरहरू उजाड़ पार्यो। त्यो गर्जेको आवाजले देश र त्यसमा भएका सबै जना तर्से। तब जाति-जातिहरू छेउछाउका इलाकाहरूबाट आए, र तिनीहरूले त्यसको लागि पासो थापे, र त्यसलाई पक्रनलाई तिनीहरूले जाल फिँजाए, र त्यो तिनीहरूको खाड़लमा पर्यो। तिनीहरूले अङ्कुसेले त्यसलाई समातेर एउटा खोरमा हाले, र त्यसलाई बेबिलोनको राजाकहाँ ल्याए। इस्राएलका डाँड़ाहरूमा त्यसको आवाज फेरि कहिल्यै नसुनिओस् भनेर तिनीहरूले त्यसलाई कैदमा राखे। “‘पानीको छेउमा रोपिएको दाखबारीमा दाखको बोटजस्तै तेरी आमा थिई। प्रशस्त पानीको कारणले त्यो फलैफल भएकी र हाँगाहरूले झ्याम्म परेकी थिई। त्यसका हाँगाहरू बलिया थिए, शासकको राजदण्डको लागि उचित। बाक्ला हाँगाहरूका बीचमा त्यो अल्गो भएर बढ़्यो। त्यसका हाँगाहरू धेरै थिए, र त्यो अल्गो देखिन्थ्यो। तर क्रोधमा त्यो उखेलियो, र जमिनमा त्यो फ्याँकियो। पूर्वीय बतासले त्यसलाई सुकाइदियो, र त्यसका फलहरू सबै झारिए। त्यसका बलिया हाँगाहरू सुकिहाले, र आगोले ती भस्म पारियो। अब त्यो मरुभूमिमा रोपियो, सुक्खा र पानी नभएको ठाउँमा। त्यसका मुख्य हाँगाहरूमध्ये एउटाबाट आगो निस्क्यो, र त्यसका फलहरू भस्म पार्यो। त्यसमा कुनै बलियो हाँगा बाँकी रहेन, शासकको जो राजदण्डको निम्ति उचित थियो। यो एउटा विलापी गीत हो, र विलापी गीतजस्तै यो प्रयोग गरिनुपर्छ।
इजकिएल 19 पढ्नुहोस्
सुन्नुहोस् इजकिएल 19
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: इजकिएल 19:1-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू