तब परमप्रभुले मोशालाई भन्नुभयो, “पहिलो महिनाको पहिलो दिन भेट हुने पाल, अर्थात् पवित्र वासस्थान खड़ा गर्नू। त्यसमा गवाहीको सन्दूक राखेर त्यसलाई पर्दाले छेक्नू। टेबिल भित्र ल्याएर त्यसमाथि हुने थोकहरू सजाउनू, र सामदान भित्र ल्याएर त्यसमा दियाहरू मिलाउनू। गवाहीको सन्दूकको सामुन्ने सुनको धूप-वेदी राख्नू, र पवित्र वासस्थानको ढोकाको पर्दा लाउनू। “भेट हुने पाल, अर्थात् पवित्र वासस्थानको ढोकाको सामु होमबलिको वेदी राख्नू। त्यसपछि भेट हुने पाल र वेदीको बीचमा बाटा राखेर त्यसमा पानी हाल्नू। अनि चोकको घेरा वरिपरि खड़ा गर्नू, र चोकको ढोकाको पर्दा टाँग्नू। “अभिषेक गर्ने तेल लिएर पवित्र वासस्थान र त्यसमा भएका सबै थोकलाई अभिषेक गर्नू र त्यसलाई र त्यसका सबै सामान पवित्र गर्नू, अनि त्यो पवित्र हुनेछ। तब होमबलिको वेदी त्यसको सबै सामानसमेत अभिषेक गरेर त्यसलाई पवित्र गर्नू, र त्यो अति पवित्र हुनेछ। बाटा र त्यसका खुट्टा अभिषेक गरेर पवित्र गर्नू। “त्यसपछि हारून र त्यसका छोराहरूलाई भेट हुने पालको ढोकामा ल्याएर तिनीहरूलाई पानीले नुहाउनू। अनि हारूनलाई पवित्र पोशाक पहिराएर त्यसलाई अभिषेक गर्नू, र त्यसले पूजाहारी पदमा मेरो सेवा गरोस् भनेर त्यसलाई पवित्र गर्नू। त्यसका छोराहरूलाई ल्याएर तिनीहरूलाई लबेदा पहिराउनू। तैंले तिनीहरूको बुबालाई अभिषेक गरेझैँ तिनीहरूलाई पनि अभिषेक गर्नू, र तिनीहरूले पूजाहारी पदमा मेरो सेवा गरून्। तिनीहरूको अभिषेकचाहिँ एक अनन्त पूजाहारीगिरीको रूपमा तिनीहरूका सम्पूर्ण पुस्ताभरि हुनेछ।” तब मोशाले त्यसै नै गरे। परमप्रभुले दिनुभएको सबै आज्ञाबमोजिम तिनले गरे। यसरी दोस्रो वर्षको पहिलो महिनाको पहिलो दिन पवित्र वासस्थान खड़ा गरियो। मोशाले पवित्र वासस्थान खड़ा गरे, र त्यसका आधारहरू राखेर त्यसका फल्याकहरू ठाड़ो राखी तिनीहरूमा बार लगाई त्यसका खम्बाहरू खड़ा गरे। त्यसपछि तिनले पवित्र वासस्थानमाथि पाल फिँजाएर पालमाथि छत लगाए, जस्तो परमप्रभुले तिनलाई आज्ञा गर्नुभएको थियो। अनि तिनले गवाही-पाटी ल्याई सन्दूकभित्र राखेर डन्डाहरू सन्दूकमा हाले, र कृपा-आसन सन्दूकमाथि राखे। तब तिनले सन्दूक पवित्र वासस्थानभित्र ल्याए, र छेक्ने पर्दा टाँगेर गवाहीको सन्दूक छेके, जस्तो परमप्रभुले तिनलाई आज्ञा गर्नुभएको थियो। अनि मोशाले भेट हुने पालमा पवित्र वासस्थानको उत्तरतर्फ पर्दाको बाहिरपट्टि टेबिल राखे। त्यसपछि तिनले त्यसमाथि परमप्रभुको सामुन्ने रोटी सजाएर राखे, जस्तो परमप्रभुले तिनलाई आज्ञा गर्नुभएको थियो। तिनले भेट हुने पालमा टेबिलको सामु पवित्र वासस्थानको दक्षिणतिर सामदान राखे। तिनले परमप्रभुको सामुन्ने दियाहरू मिलाए, जस्तो परमप्रभुले तिनलाई आज्ञा गर्नुभएको थियो। मोशाले भेट हुने पालमा पर्दाको सामु सुनको वेदी राखे। तिनले त्यसमा सुगन्धित धूप बाले, जस्तो परमप्रभुले तिनलाई आज्ञा गर्नुभएको थियो। अनि तिनले पवित्र वासस्थानको ढोकामा पर्दा टाँगे। तब तिनले भेट हुने पाल, अर्थात् पवित्र वासस्थानको ढोकामा होमबलिको वेदी राखेर त्यसमा होमबलि र अन्नबलि चढ़ाए, जस्तो परमप्रभुले तिनलाई आज्ञा गर्नुभएको थियो। तिनले भेट हुने पाल र वेदीको बीचमा बाटा राखेर धुनलाई पानी हाले। मोशा, हारून र तिनका छोराहरूले त्यसमा आ-आफ्ना हात-खुट्टा धोए। तिनीहरू भेट हुने पालमा पस्दा अथवा वेदीमा जाँदा तिनीहरूले हात-खुट्टा धुने गर्थे, जस्तो परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो। तब मोशाले पवित्र वासस्थान र वेदीका चारैतिर चोकको घेरा खड़ा गरे, र चोकको ढोकाको पर्दा टाँगे। यसरी मोशाले काम समाप्त गरे।
प्रस्थान 40 पढ्नुहोस्
सुन्नुहोस् प्रस्थान 40
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थान 40:1-33
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू