अनि मोशाले परमप्रभुलाई भने, “तपाईंले मलाई ‘यी मानिसहरूलाई लिएर जा’ भन्नुहुन्छ, तर मसित को-को पठाउनुहुन्छ तपाईंले मलाई थाहा दिनुभएको छैन। तपाईंले भन्नुभएको छ, ‘म त तँलाई तेरो नाउँले नै चिन्छु: र तँमाथि मेरो निगाह भएको छ’। यदि तपाईंको निगाह ममाथि भएको छ भने, अब मलाई तपाईंको मार्ग देखाउनुहोस्, र म तपाईंलाई चिन्न सकूँ र तपाईंको दृष्टिमा निगाह पाइरहन सकूँ। यो जाति तपाईंकै हो भनी सम्झनुहोस्।” अनि परमप्रभुले भन्नुभयो, “मेरो उपस्थिति तँसँग जानेछ, र म तँलाई विश्राम दिनेछु।” तब मोशाले उहाँलाई भने, “यदि तपाईंको उपस्थिति हामीसित गएन भने हामीलाई यहाँबाट उता नलानुहोस्। तपाईं हामीसितै नगएसम्म म र तपाईंका यी मानिसहरूले तपाईंको निगाह पाएका छौं भनेर हामीले कसरी जान्ने? अरू के कुराले म र तपाईंका मानिसहरू पृथ्वीका सारा मानिसहरूदेखि भिन्नै हुन्छौं?” तब परमप्रभुले मोशालाई भन्नुभयो, “तैंले भनेकै कुरा म गर्नेछु, किनकि तैंले मेरो दृष्टिमा निगाह पाएको छस्, र मैले तँलाई नाउँले नै चिनेको छु।” तिनले भने, “अब मलाई तपाईंको महिमा देखाउनुहोस्।” उहाँले भन्नुभयो, “म तेरै सामुन्ने मेरो सारा श्रेष्ठता देखाउनेछु, र तेरै सामुन्ने ‘परमप्रभु’ नाउँको घोषणा गर्नेछु। जसलाई म अनुग्रह गर्न चाहन्छु त्यसलाई म अनुग्रह गर्नेछु। जसलाई म कृपा देखाउन चाहन्छु, त्यसलाई म कृपा देखाउनेछु।” अनि उहाँले भन्नुभयो, “तर तैंले मेरो अनुहार हेर्न सक्दैनस्, किनकि मेरो अनुहार हेरेर मानिस जीवितै रहन सक्दैन।” तब परमप्रभुले भन्नुभयो, “मेरो छेउमा एउटा ठाउँ छ, जहाँ तँ एउटा चट्टानमा खड़ा हो। मेरो महिमा त्यहाँबाट भएर जाँदा तँलाई म त्यस चट्टानको धाँदोमा राख्नेछु, र म त्यहाँबाट भएर नजाउञ्जेल तँलाई मेरै हातले छोपिराख्नेछु। त्यसपछि म मेरो हात उठाउनेछु, र तैंले मेरो पछिको भाग देख्नेछस्, तर मेरो अनुहारचाहिँ देखिनेछैन।”
प्रस्थान 33 पढ्नुहोस्
सुन्नुहोस् प्रस्थान 33
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थान 33:12-23
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू