प्रस्‍थान 32:19-35

प्रस्‍थान 32:19-35 NNRV

छाउनीनेर आउँदाआउँदै मोशाले बाछो र नाच देखे। मोशालाई साह्रै रीस उठ्यो, र तिनले ती पाटीहरू आफ्‍ना हातले पर्वतको फेदीमा फ्‍याँकेर फुटाइदिए। तब तिनीहरूले बनाएको त्‍यो बाछो लिएर तिनले आगोमा जलाइदिए, र त्‍यसलाई धूलोपीठो पारेर पानीमा छरिदिए। अनि तिनले इस्राएलीहरूलाई त्‍यो पिउन लाए। त्‍यसपछि मोशाले हारूनलाई भने, “यी मानिसहरूले तपाईंलाई के गरे, र तपाईंले यिनीहरूलाई यस्‍तो ठूलो पापमा लानुभयो?” हारूनले जवाफ दिए, “हजूरको रीस ममाथि नउठोस्‌। तपाईं त यी मानिसहरूलाई जान्‍नु नै हुन्‍छ। यिनीहरू कति खराबीतिर लागेका छन्‌। तिनीहरूले मलाई भने, ‘हाम्रा निम्‍ति हाम्रा अगिअगि जानलाई देवताहरू बनाऊ, किनकि हामीलाई मिश्रबाट निकालेर ल्‍याउने मोशालाई के भयो हामी जान्‍दैनौं’। तब मैले तिनीहरूलाई भनें, ‘जस-जसकहाँ सुनका गहनाहरू छन्, ती फुकालेर ल्‍याओ’। अनि तिनीहरूले मलाई सुन दिए। मैले आगोमा हालिदिएँ, र यो बाछो निस्‍क्‍यो।” मोशाले देखे कि मानिसहरू त छाड़ा भइसकेका थिए, किनकि हारूनले तिनीहरूलाई छाड़ा हुन दिएका थिए, यतिसम्‍म कि तिनीहरू आफ्‍ना वैरीका सामुन्‍ने हाँसोको कारण बनेका थिए। तब मोशाले छाउनीको ढोकानेर उभिएर भने, “जो-जो परमप्रभुतर्फ छन्, तिनीहरू मकहाँ यता आऊन्‌।” अनि लेवीका सारा सन्‍तानचाहिँ तिनीकहाँ आएर भेला भए। मोशाले तिनीहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: ‘तिमीहरू हरेकले आ-आफ्‍नो तरवार भिरेर छाउनीको वल्‍लो छेउदेखि पल्‍लो छेउसम्‍म ढोका-ढोकामा गएर हरेकले आफ्‍नो भाइ र आफ्‍नो मित्र र आफ्‍नो छिमेकीलाई मार’।” तब लेवीका सन्‍तानहरूले मोशाले भनेअनुसार गरे। त्‍यस दिन मानिसहरूमध्‍ये तीन हजार जति पुरुष मारिए। तब मोशाले भने, “आज तिमीहरू आ-आफ्‍ना छोरा र आ-आफ्‍ना भाइलाई नाश गरी परमप्रभुको निम्‍ति अलग गरिएका छौ। आज उहाँले तिमीहरूलाई आशिष्‌ दिनुभएको छ।” भोलिपल्‍ट मोशाले मानिसहरूलाई भने, “तिमीहरूले ठूलो पाप गरेका छौ। तर अब म परमप्रभुकहाँ उक्‍लेर जानेछु। शायद तिमीहरूको यो पापको निम्‍ति म प्रायश्‍चित गर्न सक्‍छु होला।” अनि मोशाले परमप्रभुकहाँ फर्किगएर यसो भने, “हाय! यी मानिसहरूले कस्‍तो ठूलो पाप गरेका छन्‌! तिनीहरूले आफ्‍ना निम्‍ति सुनका देवताहरू बनाएका छन्‌। तापनि तपाईंले तिनीहरूको पाप क्षमा गर्नुहुन्‍छ होला— हुन्‍न भनेता, तपाईंले लेख्‍नुभएको पुस्‍तकबाट मेरो नाउँनिशानै मेटिदिनुहोस्‌।” तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “जसले मेरो विरुद्धमा पाप गरेको छ, त्‍यसलाई नै म आफ्‍नो पुस्‍तकबाट मेटिदिनेछु। अब जा, मैले तँलाई भनेको स्‍थानमा मानिसहरूलाई अगुवाइ गरेर लैजा, र मेरा दूत तेरो अगिअगि जानेछन्, तापनि तिनीहरूलाई सजाय दिने समय आएपछि म तिनीहरूको पापको दण्‍ड दिनेछु।” अनि हारूनले बनाएको बाछोप्रति तिनीहरूले जे गरे त्‍यसैको निम्‍ति परमप्रभुले मानिसहरूलाई रूढ़ीले मार्नुभयो।