प्रस्‍थान 32:1-14

प्रस्‍थान 32:1-14 NNRV

जब मानिसहरूले मोशालाई पर्वतबाट ओर्लन बियाँलो गरेका देखे, तब तिनीहरू हारूनकहाँ भेला भएर तिनलाई भन्‍न लागे, “उठ्‌नुहोस्, र हाम्रा अगिअगि जानलाई देवताहरू बनाउनुहोस्, किनकि हामीलाई मिश्रबाट निकालेर ल्‍याउने मोशालाई के भयो हामी जान्‍दैनौं” हारूनले तिनीहरूलाई भने, “तिमीहरूका पत्‍नीहरू र छोराछोरीहरूका कानमा भएका सुनका कुण्‍डलहरू फुकाली यहाँ मकहाँ ल्‍याओ।” तब सबै मानिसहरूले आ-आफ्‍ना कानमा भएका सुनका कुण्‍डलहरू फुकालेर हारूनकहाँ ल्‍याए। तिनले ती तिनीहरूका हातबाट लिएर हतियारले खोपे, र ढालेर बाछाको आकारको एउटा मूर्ति बनाए। तब तिनीहरूले भने, “हे इस्राएली हो, तिमीहरूलाई मिश्रबाट निकालेर ल्‍याउने तिमीहरूका देवताहरू यी नै हुन्‌।” यो देखेर हारूनले बाछाकै सामु एउटा वेदी बनाए, र तिनले यसो भनेर घोषणा गरे, “भोलि परमप्रभुको निम्‍ति एउटा चाड़ हुनेछ।” भोलिपल्‍ट मानिसहरू बिहानै उठेर होमबलि चढ़ाए, र मेलबलि पनि ल्‍याए। तब तिनीहरू खानपान गर्नलाई बसे, अनि त्‍यसपछि मोजमा डुब्‍न उठे। तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “तल ओर्ली, किनकि तैंले मिश्रबाट निकालेर ल्‍याएका तेरा मानिसहरूले आफैलाई भ्रष्‍ट पारेका छन्‌। तिनीहरूलाई जुन मार्गमा हिँड्‌ने आज्ञा मैले दिएको थिएँ, त्‍यसबाट तिनीहरू यति चाँड़ै अर्कोतिर लागेका छन्‌। तिनीहरूले आफ्‍ना निम्‍ति बाछाको आकारमा एउटा ढालेको मूर्ति बनाएर त्‍यसैलाई पुजेका छन्, र त्‍यसैको निम्‍ति बलि चढ़ाएर भनेका छन्, ‘हे इस्राएली हो, तिमीहरूलाई मिश्रबाट निकालेर ल्‍याउने तिमीहरूका देवताहरू यी नै हुन्‌’।” परमप्रभुले मोशालाई भन्‍नुभयो, “मैले यी मानिसहरूलाई देखें। यिनीहरू त हठी मानिसहरू रहेछन्‌। अब मलाई नरोक्‌, र मेरो क्रोध यिनीहरूमाथि दन्‍किओस्‌। म यिनीहरूलाई भस्‍म पार्नेछु। अनि तँबाट नै म एउटा ठूलो जाति बनाउनेछु।” तर मोशाले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई आग्रहपूर्वक भने, “हे परमप्रभु, तपाईंले आफ्‍नो ठूलो सामर्थ्‍य र शक्तिशाली हातले मिश्रबाट निकालेर ल्‍याउनुभएका आफ्‍ना मानिसहरूमाथि तपाईंको क्रोध किन यति साह्रै जलेको छ? मिश्रीहरूले किन यसो भन्‍ने मौका पाऊन्‌? ‘कुभलो चिताएर पर्वतहरूमा तिनीहरूलाई मार्न, र तिनीहरूलाई पृथ्‍वीबाट नाश गर्न उहाँले तिनीहरूलाई ल्‍याउनुभयो’। तपाईं आफ्‍नो भयङ्कर क्रोधलाई शान्‍त गर्नुहोस्, र आफ्‍ना मानिसहरूलाई हानी गर्नदेखि आफ्‍नो मन बद्‌लनुहोस्‌। आफ्‍ना दासहरू अब्राहाम, इसहाक र याकूबलाई सम्‍झनुहोस्, जुनहरूसित तपाईंले आफ्‍नै नाउँमा शपथ खाएर यसो भन्‍नुभएको थियो, ‘म तिमीहरूका सन्‍तानलाई आकाशका ताराहरूजस्‍तै बढ़ाउनेछु। मैले प्रतिज्ञा गरेको यो सारा देश तिमीहरूका सन्‍तानलाई दिनेछु, र तिनीहरू सधैँको निम्ति त्‍यसको अधिकारी हुनेछन्‌’।” तब आफ्‍ना मानिसहरूलाई हानि गर्नदेखि परमप्रभुले आफ्‍नो मन बद्‌लनुभयो।