प्रस्‍थान 31:1-11

प्रस्‍थान 31:1-11 NNRV

अनि परमप्रभुले मोशालाई भन्‍नुभयो, “हेर्, मैले यहूदाका कुलको हूरको नाति, ऊरीको छोरो बजलेललाई चुनेको छु। मैले त्‍यसलाई परमेश्‍वरका आत्‍माले, र सीप, दक्षता र सबै किसिमका कारीगरीको ज्ञानले परिपूर्ण पारेको छु। त्‍यसले सुन, चाँदी, काँसाका कलापूर्ण आकार कोर्ने, र पत्‍थर काट्‌ने र जड्‌ने, काठ खोप्‍ने र सबै किसिमका कारीगरीका काम गरोस्‌ भनेर हो। दानका कुलको अहीसामाकको छोरा ओहोलीआबलाई मैले त्‍यसलाई सहयोग गर्न नियुक्त गरेको छु। जे-जति मैले तँलाई आज्ञा गरेको छु, ती सब बनाउनलाई सबै कारीगरहरूलाई मैले दक्षता दिएको छु: अर्थात्, भेट हुने पाल, गवाहीको सन्‍दूक र त्‍यसमाथि हुने कृपा-आसन, र पालका अरू सबै सामानहरू— टेबिल र त्‍यसका सामानहरू, शुद्ध सुनको सामदान र त्‍यसका सबै सामान, र धूपको वेदी, होमबलिको वेदी र त्‍यसका सबै सामानहरू, धुने बाटा र त्‍यसका खुट्टाहरू— बुनेका पोशाकहरू, हारून पूजाहारीको निम्‍ति पवित्र पोशाकहरू र त्‍यसका छोराहरूका पूजाहारी पदमा सेवा गर्ने पोशाकहरू, र पवित्रस्‍थानको निम्‍ति अभिषेक गर्ने तेल र सुगन्‍धित धूप तिनीहरूले बनाऊन्‌। मैले तँलाई दिएका सबै आज्ञाअनुसार तिनीहरूले गरून्‌।”