मोशाले आफ्ना ससुरा मिद्यानका पूजाहारी यित्रोका भेड़ाबाख्रा चराइरहेका थिए, र तिनले भेड़ाबाख्रा चराउँदै उजाड़-स्थानको पारितिर परमेश्वरको पर्वत, अर्थात् होरेबसम्मै लगे। त्यहाँ एउटा जलिरहेको पोथ्राको ज्वालामा परमप्रभुका दूत तिनीकहाँ प्रकट भए, र तिनले पोथ्रालाई हेरे। त्यो पोथ्रा जलिरहेको थियो— तापनि भस्म हुँदैनथ्यो। मोशाले भने, “अब म छेवैमा गएर यो गजबको दृश्यलाई हेर्नेछु। त्यो पोथ्रा किन भस्म हुँदोरहेनछ?”
जब हेर्नलाई तिनी त्यतातिर लागेका परमप्रभुले देख्नुभयो, तब परमेश्वरले पोथ्राको बीचबाट “मोशा, ए मोशा” भनेर तिनलाई बोलाउनुभयो।
अनि तिनले भने “म यहीँ छु।”
तब परमेश्वरले भन्नुभयो, “यता नजिक नआइज। तेरो खुट्टाबाट जुत्ता फुकाल्, किनभने तँ उभिएको यो ठाउँ पवित्र भूमि हो।” उहाँले अझै भन्नुभयो, “म तेरा पिता-पुर्खाका परमेश्वर हुँ। अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर हुँ।” तब मोशाले आफ्नो मुख ढाके, किनकि तिनी परमेश्वरलाई हेर्न डराए।
तब परमप्रभुले भन्नुभयो, “मिश्रमा भएका मेरा प्रजाको दु:ख मैले देखेको छु, र कामदारहरूको अत्याचारमा तिनीहरूले पुकारा गरेका मैले सुनेको छु। तिनीहरूको दु:ख मलाई थाहा छ। यसैले तिनीहरूलाई मिश्रीहरूका हातबाट छुटकारा दिएर त्यस देशबाट एक असल र ठूलो देश, अर्थात् दूध र मह बग्ने देश— कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसीहरूका देशमा ल्याउनलाई म ओर्लिएको छु। अब हेर्, इस्राएलीहरूको पुकारा मकहाँ आइपुगेको छ। मिश्रीहरूले तिनीहरूमाथि गरेको अत्याचार मैले देखेको छु। यसकारण अब जा, मेरा प्रजा, अर्थात् इस्राएलीहरूलाई मिश्रबाट निकालेर ल्याउन म तँलाई फारोकहाँ पठाउँदैछु।”
तर मोशाले परमेश्वरलाई भने, “फारोकहाँ गएर इस्राएलीहरूलाई मिश्रबाट ल्याउन सक्ने म को हुँ र?”
अनि परमेश्वरले भन्नुभयो, “म तँसित हुनेछु, र मैले तँलाई पठाएको हुँ भन्ने कुराको चिन्ह तँलाई यो हुनेछ: जब तैंले ती मानिसहरूलाई मिश्रबाट निकालेर ल्याउनेछस्, तब तिमीहरूले यही पर्वतमा परमेश्वरको आराधना गर्नेछौ।”
मोशाले परमेश्वरलाई भने, “हेर्नुहोस्, जब म इस्राएलीहरूकहाँ गएर तिनीहरूलाई भन्नेछु, ‘तिमीहरूका पिता-पुर्खाका परमेश्वरले मलाई तिमीहरूकहाँ पठाउनुभएको हो,’ तब तिनीहरूले ‘उहाँको नाउँ के हो त?’ भनेर सोधे भने, मैले तिनीहरूलाई के भन्ने?”
तब परमेश्वरले मोशालाई भन्नुभयो, “म हुँ जो म हुँ।” फेरि उहाँले भन्नुभयो, इस्राएलीहरूलाई तैंले यसो भन्नू, “म हुँ” भन्नेले तिमीहरूकहाँ मलाई पठाउनुभएको हो।