प्रस्‍थान 20:15-26

प्रस्‍थान 20:15-26 NNRV

“चोरी नगर्नू। “आफ्‍नो छिमेकीको विरुद्धमा झूटो गवाही नदिनू। “आफ्‍नो छिमेकीका घरको लालच नगर्नू। आफ्‍नो छिमेकीकी पत्‍नीको लालच नगर्नू, आफ्‍नो छिमेकीको कमारा, कमारी, गोरु, गधा वा त्‍यसको कुनै पनि थोकको लालच नगर्नू।” जब सारा मानिसहरूले गर्जन, बिजुली र तुरहीको आवाज सुने र पर्वतबाट धूवाँ उठिरहेको देखे, तब तिनीहरू थरथर काँपे र टाढ़ै उभिरहे। तिनीहरूले मोशालाई भने, “तपाईं हामीसित कुरा गर्नुहोस्‌ र हामी सुन्‍नेछौं, तर परमेश्‍वर हामीसित नबोलून्, नत्रता हामी मर्नेछौं।” मोशाले मानिसहरूलाई भने, “नडराओ, किनकि परमेश्‍वर तिमीहरूलाई जाँच्‍नलाई, र उहाँको भय तिमीहरूका सामु रहोस्, र तिमीहरूले पाप नगर भनेर आउनुभएको छ।” मानिसहरू टाढ़ै उभिरहे। परमेश्‍वर हुनुभएको त्‍यो बाक्‍लो बादलमा उहाँको नजिक मोशा गए। तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “तैंले इस्राएलीहरूलाई यसो भन्‍नू: स्‍वर्गबाट म तिमीहरूसित बातचीत गरेको तिमीहरू आफैले सुनेका छौ। मसँगसँगै तिमीहरूले अरू देवताहरू नबनाउनू। तिमीहरूले चाँदीका देवताहरू, सुनका देवताहरू आफ्‍ना निम्‍ति नबनाउनू। “मेरो निम्‍ति माटोको वेदी बनाएर त्‍यसैमा तिमीहरूका होमबलि, मेलबलि, भेड़ाबाख्राहरू र गाईबस्‍तुहरू चढ़ाउनू। जहाँ-जहाँ म मेरो नाउँको आदर गराउनेछु, त्‍यहाँ-त्‍यहाँ आएर म तिमीहरूलाई आशिष्‌ दिनेछु। तिमीहरूले मेरो निम्‍ति ढुङ्गाको वेदी बनाउँदा कुँदेको ढुङ्गाको वेदी नबनाउनू। किनकि त्‍यसमा तिमीहरूको हतियार चलाउँदा तिमीहरूले त्‍यसलाई अशुद्ध पार्नेछौ। र मेरै वेदीमा खुट्‌किलो बनाएर नउक्‍लनू। किनभने त्‍यसो गर्दा त्‍यसमाथि तिमीहरूको नग्‍नता उघ्रनेछ।